काठमाडौं । काठमाडौं, जुम्ला र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । सबै दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई वा ठक्कर खाँदा गम्भीर घाइते भएका तीन जनाले उपचारको क्रममा ज्यान गुमाएका हुन् ।
काठमाडौंको शंखरापुर–१ छापभञ्ज्याङ ढकालगाउँमा प्रदेश-३ ०२-१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-८ का ३५ वर्षीय एकबहादुर तामाङको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार एक जना घाइते भई उपचाररत छन् ।
जुम्लाको चन्दननाथ–६ बसपार्कस्थित सडकमा रोकेर राखिएको भे.२ त. १८६८ नम्बरको ट्याक्टरमा भे.७ प २२२२ नम्बरको मोटरसाइकल ठोक्किँदा पातारासी-३ का ४५ वर्षीय जनबहादुर बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक महिला घाइते भएकी छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी तनहुँको व्यास-१२ घाँसीकुवा नजिकै ग-२३ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा व्यास-१ भादगाउँका १९ वर्षीय जगत बाचे मगरको प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया