काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगमा बुझाइएको दल दर्तासम्बन्धी सूचीबारे भ्रम नफैलाउन आग्रह गरेका छन् ।
उनको सचिवालयले आज विज्ञप्ति जारी गर्दै आयोगमा पेस गरिएको विवरण व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण प्रारम्भिक रूपमा बुझाइएको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ कि एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूचीसहित कानुनअनुसार एक तिहाइ महिला अनिवार्य समावेश गर्ने प्रावधान पूरा गर्न तत्काल उपस्थित भएर हस्ताक्षर गर्न सक्ने १३ जना महिला सदस्यका नाम थपिएका मात्र हुन् ।
सचिवालयका अनुसार यो कुनै छुट्टै संरचना होइन र विधानअनुसारको पूर्ण संरचना बनाउने काम बाँकी छ । पार्टी संयोजक र सह–संयोजकबाहेक सबै पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुने उल्लेख गर्दै दाहालले एकीकरणमा कुनै द्विविधा नहोस् भन्दै गृहकार्य तीव्र गतिमा भइरहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वाम समूहको एकता प्रक्रियाबाट नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माणको काम अघि बढेको छ । आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि दल दर्ता गरी प्रमाणपत्र लिइसक्न निर्वाचन आयोगले यही ३० गतेसम्मको समयसीमा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया