दक्षिण कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासलाई सञ्चारमन्त्रीको आग्रह

लोकपथ
217
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीहरूको हक-अधिकार र समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न त्यहाँस्थित नेपाली दूतावासलाई आग्रह गरेका छन् । सिओलस्थित नेपाली दूतावासको अवलोकन भ्रमणका क्रममा उनले दूतावासका अधिकारीहरूलाई ‘नेपालीहरूको अभिभावक’ बनेर काम गर्न आग्रह गरे ।

मन्त्री खरेलले नेपाल-कोरिया सम्बन्धलाई अझ मजबुत बनाउँदै नेपालमा लगानी भित्र्याउने वातावरण निर्माणमा दूतावासले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । दूतावाससम्बन्धी विभिन्न गुनासा बढिरहेको भन्दै उनले दुई देशबिचको आपसी हित र सहकार्य विस्तारमा पहल गर्न आग्रह गरे, मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

दूतावासकी राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सीमित जनशक्ति र एनआरएनएभित्रका विवादका कारण दूतावासको काम प्रभावित भएको बताउँदै नेपाल र नेपालीको हितमा काम गर्न आफू प्रतिबद्ध रहेको जनाइन् ।

सो अवसरमा मन्त्री खरेलले सिओलमा नेपाल एयरलाइन्सको उडान सञ्चालनका लागि दूतावासको ध्यानाकर्षण गराउँदै कोरियामा रहेका नेपालीको मानसिक स्वास्थ्य समस्याको समाधानमा आवश्यक पहल गर्न अनुरोध गरे । उनले दूतावासमा आवश्यक दरबन्दीअनुसार अतिरिक्त जनशक्ति पठाउन आफू पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मन्त्री खरेलले ‘जेनजी’ प्रदर्शनपछि नेपालमा स्थिरता फर्किएको र देश निर्वाचनतर्फ उन्मुख भइरहेको सन्देश कूटनीतिक नियोगमार्फत प्रवाह गर्नुपर्नेमा पनि जोड दिए ।

दक्षिण कोरियाको सिओलमा आयोजित ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागिताका लागि मन्त्री खरेल कात्तिक २५ गते नेतृत्वमा कोरिया प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?