काठमाडौं । मधेस प्रदेश सभाका पाँचजना सदस्यलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरिदिएकी छन् ।
आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गरेकोमा उपसभामुख राउतले त्यसलाई बदर गरिदिएकी हुन् । लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सभामुख मण्डलले हिजो बिहीबार उनीहरूलाई पदमुक्त गरिदिएका थिए । पदमुक्त हुने प्रदेशसभा सदस्यमा सर्लाहीकी उर्मिलादेवी सिंह, सप्तरीका मनिषकुमार सुमन, सर्लाहीका सञ्जयकुमार यादव, सर्लाहीकै सिंहासन कलवार सर्लाही र बाराका शारदाशंकर कलवार थिए । पदमुक्त गराइएकामा जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसद थिए ।
तर उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको कारण महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गर्दै मण्डलको निर्णय बदर गरिदिएकी हुन् । उनले सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा छलफलको लागि मिति तय हुने अवस्थामा प्रतिशोधस्वरुप आवेगमा आएर निर्णय गरेको पनि बताएकी छन् । २२ गतेको विश्वासको मतसम्बन्धी प्रस्तावको बैठकमा ती ५ जनै सांसद उपस्थित रहेको भन्दै सभामुखको सूचना बदर गरिएको उपसभामुख राउतले उल्लेख गरेकी छन् ।
सभामुख मण्डल नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् भने उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया