काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले गरेका गल्तीहरुबारे आत्मालोचना र आत्मसमीक्षा गरेका छन् ।
जारी केन्द्रीय समिति बैठक अन्तर्गत बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले पार्टीले गरेका कतिपय निर्णयका सन्दर्भमा आफूले जोडबल लगाउन नसकेको विषयमा आत्मसमीक्षा गरेका हुन् ।
खासगरी ०८१ साल असार १७ गते मध्यराति नेकपा एमालेसँग मिलेर सरकार बनाउने बेलामा आफूहरुलाई जानकारी नै नदिइएको तर आफूले पार्टीको निर्णय भन्दै मान्नुपरेको बताए । तर आफूहरुले सञ्चारमाध्यममा पढेर एमालेसँगको गठबन्धन गरेको विषय थाहा पाए पनि पार्टीको निर्णय हो भन्दै स्वीकार गरेर अघि बढ्दा घाटा हुन पुगेको उनको तर्क छ । साथै त्यसबेला आफूलाई निर्णय चित्त नबुझे पनि मानेको तर अर्को कोणबाट पार्टीलाई सही ट्रयाकमा ल्याउन आफू चुकेको बताए ।
‘प्रतिपक्षमा बस्ने, प्रचण्डलाई गएर मत हाल्ने ! ओलीले ढोक्सा थाप्यो भन्दै गरेको बेलामा मैले फरक मत राखेकै हो । तर मैले फरक मत राखिसकेपछि मैले पछि साथीहरुको बिचमा लिएर जानुपर्नेथियो । केही दिनमा सरकार बन्यो, पार्टीको निर्णय भनेर लुरुलुरु गइयो । त्यो गल्ती गरेकै हो । मैले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु हुँदैन भन्ने शैद्धान्तिक हिसावले मैले त्यो कुरा राखेको थिएँ । मैले पत्रिकामा पढेर थाहा पाएको, मैले सभापतिज्यूको घरमा भनेको हो, तपाईँको प्राइभेट कम्पनी हो भनेर भनेको । तपाईँले निर्णय गर्ने अनि भोलिपल्ट हामीलाई बताउँने ? तपाईँले बाहिरबाट हेर्दै गर्दा पदाधिकारी बूढानिलकण्ठमा बसिरहेका छन् भन्ने हुन्थ्यो, हाम्रो हालत त हामीलाई थाहा थियो । सभापतिज्यूले भयो यार भाई यार भन्नुभयो । पार्टीको अभिभावक, पीतातुल्य पार्टीको निर्णय भन्ने लाग्यो मानियो तर नमान्नुपर्ने थियो, लड्नुपथ्र्यो । कुनै पनि हालतमा गर्न दिइँदैन भनेर सांसदहरुसँग लबिइङ गर्नुपथ्र्यो । तपाईँले गर्नुभयो भने तपाईँको दलको नेता बदल्छु भन्नुपथ्र्यो । गल्ती गरेकै हो,’ केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले भने ।
यसैगरी आफू पार्टीको महत्वपूर्ण जिम्मेवारी रहँदा समेत आफूले आफ्नो ठाउँबाट परिवर्तन र विद्रोह गर्नुपर्ने ठाउँमा आफ्नो गल्ती भएको स्वीकार गरे । स्थानीय तहको निर्वाचनका बेला कुनै पालिकाको विषयमा आफूले प्राप्त गरेको सही सूचना पार्टी सभापति र शीर्ष नेताहरुसामू राख्दा समेत त्यसलाई रोक्न नसकेको बताए । साथै त्यसपछि पुनः पार्टीको निर्णय भन्दै मानेको तर त्यसले पार्टीको आन्तरिक जीवनमा ठूलो असर गरेको उनको तर्क रहेको छ ।
मैले निर्वाचनअघि गठबन्धन गर्न हुँदैन पनि भन्ने र अनि गठबन्धन गरेर निर्वाचनमा पनि जाने ? मैले गल्ती गरेकै हो । मैले निर्वाचन नलड्ने आँट गर्नुपथ्र्यो । हामीले पटक जसरी सोच्नुपर्नेछ, त्यो पटक पनि सोच्नुपथ्र्यो । यसरी निर्वाचनमा जानु हुँदैन भनेपछि त्यसरी निर्वाचनमा लगेपछि त्यसरी निर्वाचनमा लड्नुहुँदैनथ्यो ।
‘मैले काम गरेका ठाउँहरुबाट जति भत्काउनुपथ्र्यो मैले सकिन, मैले जति बनाउनुपर्ने थियो मैले सकिन । मैले बदल्नुपर्ने थियो मैले बदल्न सकिन । मेरा गल्ती कमजोरीहरु रहे, मैले त्यसलाई स्वीकार्नुपर्छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको टिकट वितरण गर्ने बेलामा मलाई सभापतिज्यूले बोलाउनुभयो, साँझको समय थियो । मैले एउटा पालिकाको सन्दर्भमा भने, यो निर्णय आज यदी तपाईँले गर्नुभयो भने सभापतिज्यू, दाई तपाईँको यो निर्णयका कारणले जुन पात्र आउँछ, तपाईँले चिन्नु पनि हुँदैन भनेर मैले चिनाइदिँए, तपाईको निर्णयले जुन पात्र आउँछ त्यसको कारण हामीले राजनीतिमा लामो समयसम्म ठूलो मूल्य चुकाउनुपर्छ । यो निर्णय नगर्न मैले सभापतिज्यूलाई भनेँ । सभापतिज्यूले मिल्दैन यार भनिसकेँ यार यार भन्नुभयो । मैले अन्य नेता साथीहरुको अघि पनि भने तर बुझाउँन सकिन । मैले नमान्नुपथ्र्यो, मैले माने । म घुँडा धसेर बस्नुपर्ने थियो, म लड्नुपर्ने थियो, मैले अस्वीकार गर्नुपथ्र्यो, मैले निर्णय गर्न दिन हुँदैन थियो, मेरा सम्पूर्ण तागत बल लगाउनुपर्ने थियो ।’
आफूले ०६८ सालदेखि लामो समय राजनीतिको केन्द्रमा रहेका नेताहरुले बिदा लिनुपर्छ भन्दै आवाज उठाइरहेको तर नसकेको जिकिर गरे । गत महाधिवेशन वर्तमान सभापतिलाई नेतृत्वबाट बिदा गर्न डा. शेखर कोइरालालाई अघि सारेर प्रयत्न गरेको तर नसकेको स्मरण गरे । साथै आफूले जुन नेताहरुलाई बिदा गर्न लडेको हो पछि त्यही नेताहरु नै नेतृत्वमा आएपछि तीनैसँग बसेर काम गर्नुपर्ने बाध्यता पार्टीमा आफूलाई माया गर्ने नेता कार्यकर्ताहरुले नबुझेको र बुझाउन नसकेको बताए ।
‘मैले २०६८ सालदेखि नेताहरुले विश्राम लिनुपर्छ भन्न थालेको रहेछु । अन्तर्वार्तामा, बोलीमा, लेखमा र सबै ठाउँमा । मेरा कारणहरु अरु देशमा के हुन्छ, विदेशमा के हुन्छ भन्दै आएको हुँ । भन्दैभन्दै २०७८ सम्म आएँ । ०७८ मा आएर बिदा गराउने कोशिस गरियो, शेखर दाईलाई सभापति बनाउने कोशिस गरियो, सकिएन, महामन्त्री भइयो । अहिले फर्किएर हेर्दा आफैँले ठूलो गल्ती गरेँ भन्ने लाग्छ । किनकी ०६८ देखि ७८ सम्म हजारौँहजार तन्नेरीहरुका बिचमा विभिन्न माध्यमबाट तन्नेरीहरु फेर्नुपर्छ भनियो, पार्टीभित्रको नेतृत्व फेर्ने त एउटा विधान हुन्छ, तरिका हुन्छ, त्यो फेर्न सकिएन । नसकेपछि त्यही रुललाई मानेर त्यहाँ भित्र गएर काम गर्नुपर्छ । उसलाई त के लाग्छ भने, तैँले जसलाई फेर्नुपर्छ भन्या थिस् त्यहीँ बसेर काम गरिस् । तँ पनि उनीहरु जस्तै भइस् भन्ने भान पर्न गयो,’ उनले भने ।
पछिल्लो समयमा नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर चर्काचर्की परिरहेको छ । खासगरी महामन्त्री थापाको आह्वानमा विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि अहिले कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने चर्चा चलिरहेको छ । जसकारण संस्थापन र इतर पक्षका नेता कार्यकर्ताबिच वादविवाद चलिरहेका बेला महामन्त्री थापाले संवादको मर्यादा कायम राख्न आग्रह गरेका थिए । केही दिनअघि गगन निकट कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी सभापतिमाथि लगाएको आरोपबारे अहिले उनको आलोचना समेत भइरहेको छ । महामन्त्री थापाले त्यस विषयमा केन्द्रीय समिति बैठकलाई जानकारी गराउँदै आफ्नै आग्रहमा उनले पछि माफी मागेको र आगामी दिनमा पार्टीमा हुने अरु वादविवादहरु स्वच्छ हुनुपर्ने बताए ।
‘मैले केही दिनअघि मात्रै मसँग संगत गरेका एकजना भाईलाई टेलिभिजन कार्यक्रममा गएर दिएको अन्तर्वार्ताका सवालमा प्रयोग भएको शब्दलाई लिएर अनुरोध गरेँ, मेरो अनुरोध मान्छौँ भने तिम्ले सार्वजनिक रुपमा क्षमा माग्नुपर्छ । मलाई खुसी पनि लाग्यो उसले क्षमा पनि माग्यो । यो मेरो कोशिस छ, कोशिस रहन्छ,’ उनले भने, ‘हामीले संवादको मर्यादा कायम राख्नुपर्छ । हामी नेपाली कांग्रेस हो, नेपाली कांग्रेसभित्र प्रश्न उठाउँछौँ, फरक मत राख्छौँ, हामी हाम्रो भिन्न कुराहरु राख्छौँ । मुख्य कुरा हामी सिक्दैसिक्दै जान्छौँ, किनकी यो पार्टीको क्यारेक्टर पनि हो भन्ने लाग्छ । मैले यो पार्टीमा सिकेको कुरा यही हो ।’
त्यति मात्र होइन निर्वाचनमा अन्य दलहरुसँग गरिने गठबन्धनका विषयमा आफूले फरक मत राखेको तर निर्णय उल्ट्याउन नसकेपछि आफू पुनः निर्वाचन लड्न गएको विषयले आफूलाई आत्मग्लानी भइरहने बताए । आफूले गठबन्धन गरेर निर्वाचन लड्न हुँदैन भन्ने तर पछि पुनः त्यही निर्वाचनमा भाग लिने कुरा विरोधाभाषपूर्ण रहेको अहिले आत्मबोध भएको उनको तर्क छ ।
‘मैले निर्वाचनअघि गठबन्धन गर्न हुँदैन पनि भन्ने र अनि गठबन्धन गरेर निर्वाचनमा पनि जाने ? मैले गल्ती गरेकै हो । मैले निर्वाचन नलड्ने आँट गर्नुपथ्र्यो । हामीले पटक जसरी सोच्नुपर्नेछ, त्यो पटक पनि सोच्नुपथ्र्यो । यसरी निर्वाचनमा जानु हुँदैन भनेपछि त्यसरी निर्वाचनमा लगेपछि त्यसरी निर्वाचनमा लड्नुहुँदैनथ्यो । कहाँकहाँ निर्वाचन लड्नुपर्यो भन्ने आयो, त्यो निर्वाचन लडेकै हो, गल्ती त्यहाँ भएकै हो,’ उनले भने ।
फरक प्रशंगमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा आफ्ना पार्टी सभापति लगायतका नेताहरुमाथि भएको हमलाको भर्त्सना गरे । साथै जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटना बिना पूर्वाग्रह छानबिन हुनुपर्नेमा जोड दिए । खासगरी भदौ २३ गतेको घटनामा नेपाल यो अवस्थामा किन आइपुग्यो भन्ने विषयको जिम्मेवारी समेत आफूले लिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया