५ हजार कैदी अझै फरार : खोजतलासका लागि कार्यदल गठन

लोकपथ
98
Shares

काठमाडौं । गृह मन्त्रालयले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये हालसम्म ५ हजार १३ जना अझै फरार रहेको जानकारी दिएको छ ।

बिहिबार सिंहदरबारमा राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले यसबारे जानकारी दिँदै भने,‘ देशभरका कारागारबाट १४ हजार ५ सय ५४ जना कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइसकिएको छ ।’

उनका अनुसार, फरार कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ । साथै, फरार कैदीहरुको सूची सार्वजनिक गरेर सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको छ ।

गृहमन्त्री अर्यालले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजतलास तीव्रता दिएको र सुरक्षातहमा विशेष अपरेसन जारी रहेको जानकारी दिए । उनले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिँदै सरकार ती चुनौती परास्त गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘सम्पूर्ण चुनौतीहरुलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ । यसमा सर्वसाधारणको साथ र सहयोग अपरिहार्य छ ।’

साथै, उनले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्रसहित निशुल्क उपचारको व्यवस्था मिलाइएको र विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक गृहकार्य भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?