वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

लोकपथ
35
Shares

चितवन । वर्षासँगै चाडपर्वको व्यस्तता सकिएपछि मुग्लिन–मलेखु सडक खण्डको स्तरोन्नतिको कामले पुनः तीव्रता पाएको छ । असार महिनादेखि सुस्त बनेको काम अहिले तीव्र गतिमा अघि बढ्न थालेको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्ड (मुग्लिन–मलेखु) का इन्जिनियर विजय दरैका अनुसार हाल पुलको पहुँच सडक, बेरियर र ड्रेनेज निर्माणको काम भइरहेको छ । उनका भनाइमा दुई–तीन दिनभित्र कालोपत्रे गर्ने तयारी भइरहेको छ ।

३८ दशमलव ८६ किलोमिटर लामो सो सडक खण्डमध्ये हालसम्म आठ किलोमिटर कालोपत्रे भइसकेको छ भने थप पाँच किलोमिटरमा कालोपत्रेका लागि अन्तिम तयारी भइरहेको दरैले जानकारी दिए । उनका अनुसार हालसम्म सम्पूर्ण कामको ३५ प्रतिशत पूरा भइसकेको छ ।

यो खण्डमा दुई दशमलव दुई किलोमिटर सडक छ लेन, सात दशमलव दुई किलोमिटर चार लेन र दुई दशमलव तीन किलोमिटर ‘क्लाइम्बिङ’ मार्गको रूपमा बन्नेछ। क्लाइम्बिङ मार्ग विशेष गरी उकालो–ओरालो क्षेत्रमा रहनेछ ।

दरैका अनुसार चरौँदी खोलाको पुलको एउटा फाउण्डेसन हालिएको छ भने अर्को निर्माणाधीन छ । हुग्दी खोलाको पुलको दुवै फाउण्डेसन तयार भइसकेका छन् ।

वि.सं. २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक खण्डको ठेक्का लगाइएको हो । शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ठेक्का पाएको हो । आगामी पुस १५ मा म्याद सकिँदै छ, तर डिजाइन परिमार्जनलगायत कारण केही समय थप गर्ने प्रक्रिया अघि बढेको दरैले बताए ।

विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने मुख्य मार्गमध्ये एक हो । सवारीसाधनको उच्च चाप, कच्चा पदार्थको अभाव र मौसमीय कारणले काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?