काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आलोचना गरेका छन् ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका पाण्डेले धरहरा लगायत विकास निर्माणको काम गरेको विषयमा जस लिनेले भदौ २३ को घटनाको पनि जिम्मा लिनुपर्ने बताए ।
आफैँ सरकारको नेतृत्व गर्ने र भदौ २३ को जेनजीको आन्दोलनका क्रममा कसले गोली चलायो भन्दै अनविज्ञता प्रकट गर्नु गलत रहेको बताए ।
‘धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने तर, गोली कसले चलायो भन्दा थाहा छैन भन्नु गलत हो । २३ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ,’ उनले भने ।
त्यस्तै उनले अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन गराउन कठिन रहेको दाबी गरे । प्राविधिक र मनोवैज्ञानिक रुपमा समेत निर्वाचन गराउन कठिन रहेको उनको दाबी रहेको छ ।
‘फागुन २१ मा चुनाव गराउन निकै कठिन छ, चुनावको मनोविज्ञान बनेको छैन । प्राविधिक तयारी नै सरकारको पुग्दैन । तर, चुनाव नभएको अवस्थामा देश अझ अन्यौलतामा जान्छ’, पाण्डेको तर्क ।
यसैगरी पार्टीको आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनकै माध्यमबाट नेतृत्व चयन हुने दाबी गरे । पार्टीको ८औँ महाधिवेशनबाटै निर्वाचनको माध्यमबाट नेतृत्व चयन भइरहेको स्मरण गर्दै उनले आगामी महाधिवेशनमा पनि निर्वाचनकै माध्यमबाट नेतृत्व चयन हुने बताए ।
‘हाम्रो महाधिवेशनमा प्रतिनिधि बराबर हुन् । प्रतिस्पर्धा कसैले रोक्न सक्दैन । प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ,’ उनले भने ।
त्यस्तै उनले भदौ २३ को घटनामा तत्कालीन ओली नेतृत्वको सरकारले जिम्मेवारी लिनुपर्ने बताउँदै भदौ २४ को घटनामा सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया