काठमाडौं । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । एमालेका पूर्वउपाध्यक्ष रावल नेतृत्वको सो अभियान माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने यसअघि नै सहमति भइसकेको छ ।
रावलले एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका थिए । रावललाई एमालेले गत पुस १० गते साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । पार्टी नीति र नेतृत्वविरुद्ध बोल्दै हिँडेको भन्दै एमालेले उनलाई पार्टीबाट निकालेको थियो । त्यसपछि उनले आफूनिकटहरूलाई समेटेर मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए । अभियानले पार्टीको रूप भने लिइसकेको थिएन ।
एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर, रावल एमालेमा फर्किएनन् ।
नेकपा संयोजक दाहाल, सहसंयोजक नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशीसँग आइतबार भएको छलफलमा रावलले राष्ट्रियतालगायतमा विषयमा विचार मिलेकाले पार्टीमा सामेल हुने बताएका थिए ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा उनको राजनीतिक प्रभाव छ । रावल नयाँ नेकपामा सामेल भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सकारात्मक प्रभाव पार्ने दाहाल र नेपालको बुझाइ छ ।
आज दिउँसो २ बजे राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सुरु हुने एकता घोषणा सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन नेताले सम्बोधन गर्ने तय भएको छ । सभामा सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक रावलले सम्बोधन गर्नेछन् ।
रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता दिने सहमति भएको छ । दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछिको वरीयतामा रावल रहने छन् ।
आजै एमाले छाडेर केन्द्रीय सदस्य प्रकाश शाह पनि नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्न लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया