काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले लगातार खराब नतिजा आइरहेको अवस्थामा मलेसिया र बंगलादेशसँगको खेल सुखद् नतिजा दिने माध्यम बन्ने आशा व्यक्त गरेका छन् ।
नेपालले आगामी नोभेम्बर १८ तारिखमा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत तेस्रो चरणको खेलमा मलेसियासँग खेल्दैछ ।
त्यसअघि यसैको तयारीका लागि नेपाली टोली बंगलादेशसँग उसैको घरेलु मैदानमा कात्तिक २७ गते मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । यसै प्रतियोगिताका लागि सोमवार भएको बिदाई कार्यक्रममा नेपाली टोलीका कप्तान चेम्जोङले लगातार हारपछि आफ्नो टोली सुखद् नतिजाको आशामा रहेको र त्यसका लागि मिहेनत पनि गरिरहेको बताएका छन् ।
कप्तान तथा गोलकिपर किरणले बंगलादेशसँगको मैत्रीपूर्ण खेल एएफसी एसियन कप क्वालिफायरअन्तर्गत तेस्रो चरणको खेलका लागि राम्रो तयारी हुने आशा व्यक्त गरेका छन् ।
एशियन कप छनोटअघि टोलीको सन्तुलनका साथै कमजोर पक्ष पत्ता लगाउन बंगलादेशसँगको खेल महत्वपूर्ण हुने कप्तान किरणको विश्वास छ । उनले यो खेल खेलाडीको फिटनेसलगायत अन्य पक्षबारे थाहा पाउने बलियो माध्यम बन्ने आशा व्यक्त गरेका छन् । यो या त्यस कारण नतिजा आएन भन्दा पनि खेलाडीहरू जित निकाल्ने लक्ष्यमा रहेको उनी बताउँछन् । लामो समयदेखि जित दिन नसकेको अवस्थामा आगामी खेलबाट सुखद सन्देश दिन चाहेको उनले बताएका छन् । त्यसका लागि खेलाडीहरूले पनि आफ्नो उत्कृष्ट दिने कप्तान किरणले विश्वास व्यक्त गरे । राम्रो नतिजा निकाल्न खेलाडीहरू मानसिक रूपमा बलियो बन्न आवश्यक पनि रहेको कप्तानको भनाइ छ ।
तब मात्र जित निकाल्न सकिने उनको विश्वास छ । गोलकिपर र कप्तान चेम्जोङले अहिले टोलीमा प्रो। लाइसेन्स नभएको अन्तरिम प्रशिक्षक रहेको उल्लेख गर्दै तयारी तयारी छोटो भएको उल्लेख गरेका छन् । उनले देशको राष्ट्रिय खेलाडीहरू नै आन्दोलनमा जानु सही नभएको धारणा व्यक्त गरेका छन् । आफ्नो अधिकारका लागि खेलाडी बोलेको तर पनि देशको खेलाडी भएपछि अनुशासनमा पनि ध्यान दिनुपर्ने उनले उल्लेख गरेका छन् । यद्यपि, उनले घरेलु लिग नहुँदा धेरै खेलाडीलाई पीडा पनि भइरहेको उल्लेख गर्दै यो विषय सम्बन्धित तीन पक्ष बसेर नै समाधान गर्नुपर्ने बताएका छन् । यो तीन पक्ष मिलेर अगाडि बढ्न नसके देशको फुटबल विकास सम्भव नभएकाले सबैजना एक हुनुको विकल्प नरहेको कप्तान किरणको भनाइ छ ।
नेपाली टोलीका अर्का खेलाडी आदित्य शाक्यले तयारी छोटो भए पनि सुखद नतिजा निकाल्ने लक्ष्य रहेको बताएका छन् । उनले छोटो समय भएकाले टोलीमा धेरै राम्रो सुधार नभए पनि राम्रो नतिजा ल्याउने जोश खेलाडीमा आएको बताएका छन् । राम्रो नतिजा ल्याएर देशलाई जित दिने लक्ष्यसहित खेल्ने आदित्य बताउँछन् । बंगलादेश पनि नेपाल जतिकै टोली भएकाले जित निकाल्ने लक्ष्य रहेको उनको विश्वास छ । पिचभित्र कुनै समस्या नरहे पनि मैदानबाहिर खेलाडीले संघर्ष गरिरहेको आदित्यले उल्लेख गरेका छन् । आदित्यले लामो समयदेखि नेपालमा लिग निरन्तर नहुँदा दुःख लाग्ने गरेको बताएका छन् ।
नेपालका डिफेन्डर अनन्त तामाङले आफ्नो पछिल्लो १० वर्षे करियरमा चार वटा लिग मात्र खेल्न पाएको उल्लेख गरेका छन् । आफू अहिले बंगलादेशमा लिग खेलिरहे पनि देशका खेलाडीको अवस्था बुझ्नसक्ने अनन्तले बताएका छन् । उनले अहिले खेलाडीहरू धेरै पीडामा रहेको र त्यसमा राष्ट्रिय टोलीका खेलाडीले पनि साथ दिनुपर्ने बताएका छन् ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलगायतले एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरे । सो अवसरमा मन्त्री गुप्ताले एन्फाले पनि आफ्नो नियमित कार्यहरू गर्नुपर्ने उल्लेख गर्दै मन्त्रालय पनि साथमा रहने बताएका छन् । साथै एन्फा मात्र नभइ सबै पक्षले आफ्नो जिम्मेवारीसँगै काम कर्तव्य पनि पूरा गर्नुपर्ने मन्त्री गुप्ताले बताएका छन् । उनले खेलाडीले पनि आफ्नो काम र कर्तव्यमा ध्यान दिनुपर्ने उनले औंल्याएका छन् । मन्त्री गुप्ताले क्लब, एन्फा र खेलाडीबीच छलफल गर्ने बताएका छन् ।
नेपाली टोलीको मिडफिल्डमा दीपेश गुरुङसँगै लाकेन लिम्बू, रोहन कार्की, मणिकुमार लामा, आदित्य शाक्य, एरिका बिष्ट, मनीष डाँगी, योगेश गुरुङ, कुशल देउबा तथा डिफेन्डरमा अनन्त तामाङ, सनिष श्रेष्ठ, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, दीपेश गुरुङ, अभिशेक लिम्बू र रोहित चन्द छन् । नेपालको अग्रपंक्तिमा अञ्जन बिष्ट, आयुस घलान, जिलेस्पीजंग कार्की, सुवास बम ठकुरी र दिनेश हेन्जनले समाल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया