काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका कारण देशले असाधारण क्षति व्यहोरेको भन्दै कटाक्ष गरेका छन् ।
युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् । उनले जेनजी आन्दोलनका नाममा सिंहदरबारदेखि विभिन्न व्यवसायीक प्रतिष्ठानहरुलाई ध्वस्त बनाइएका कारण अर्थतन्त्रमा नै असर परेको बताए ।
‘अहिले उनीहरु नै ठूला कुरा गरिरहेका छन्, आन्दोलनको उपलब्धी भनेर । सिंहदरबार जलाएर धान फल्छ ? कम्युटरको विकास हुन्छ ? के उपलब्धी हुन्छ लोकतन्त्र मासेर असंवैधानिक क्रियाकलाप गरेर उपलब्धी हुन्छ ? राजनीतिक हिसावले के प्राप्त हुन्छ ?,’ ओलीले भने, ‘देशको यत्रो १६ सय संरचना जलाएर २५ वर्ष देशको अर्थतन्त्र पछाडी पर्यो ।’
ओलीले जेनजी आन्दोलनपछि देशमा त्रासको वातावरण सिर्जना भएको भन्दै त्यसलाई निर्मूल बनाउन एमालेले भूमिका खेल्ने दाबी गरे । आम नागरिक, प्रहरी, कर्मचारीदेखि सञ्चारकर्मीसम्म डराइरहेको भन्दै त्यसलाई मुक्ति दिन एमालेले युवा परिचालन गर्ने समेत दाबी गरे ।
‘म सबैलाई भन्न चाहन्छु, देशमा कोही पनि नडराउनुस्, देशमा नेकपा एमाले छ । एमाले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण क्षेत्रमा परिचालन गर्छ, देशमा अब उप्रान्त कसैका घर जलाउन दिइने छैन । कसैका उद्योग जलाउन दिइने छैन । कसैका पसलहरु, डिपार्टमेन्टल स्टोरहरु लुट्न दिइने छैन, नेकपा एमालेले अब त्यसको प्रबन्ध गर्नेछ,’ ओलीले भने ।
ओलीले आफूहरुले देशमा शान्ति सुव्यवस्था फर्काउन खोजेको भन्दै युवाहरुलाई मनबाट डर हटाएर लाग्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया