घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैन : प्रधानमन्त्री कार्की

लोकपथ
826
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अब देशमा घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य नहुने चेतावनी दिएकी छन् ।

शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ चल्ने अवस्था अब अन्त्य हुनुपर्ने बताइन् ।

उनले इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गरेर लाभ लिने प्रवृत्ति रोकिनुपर्ने उल्लेख गर्दै भनिन्, ‘अब यस्तो स्थिति रहँदैन, इमानदार व्यवसायीहरूलाई सरकारले पूर्ण साथ दिनेछ ।’

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनले देशलाई नयाँ सन्देश दिएको बताइन् । आन्दोलनले ‘के सह्य छ र के असह्य छ’भन्ने स्पष्ट सिमाना कोरेको बताउँदै उनले भनिन्, ‘घुसखोरी, पार्टीगत लेवी र कमिसन अब असह्य छन् । लोकतन्त्रको नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन ।’

उनका अनुसार आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले व्यापारिक क्षेत्रमा आक्रमण गरे पनि सरकार त्यसको विरोधमा दृढ रहेको छ । उनले आन्दोलनबाट मर्माहत भएका निजी क्षेत्रका व्यवसायीलाई राहत, सहयोग र आत्मविश्वास दिलाउन सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई नयाँ म्यान्डेट दिएको बताउँदै भनिन्, ‘अब नेपाल पुरानो ढर्रामा बस्न सक्दैन । आम युवा र नागरिकले देशलाई अघि बढाउने जिम्मा लिनुपर्ने समय आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?