तीन महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन् प्रहरी निरीक्षक अनु लामा, घरमा सूचना टाँस्दा पनि सम्पर्क बाहिरै 

लोकपथ
1.4k
Shares

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामालाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेको भन्दै उनलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको हो । 

गृह मन्त्रालयले आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उनलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन पनि दिएको छ । 

गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित नभएकी उनले सुरुमा १० दिनको बिदा लिएकोमा पछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन् । उनी साउन १६ गते नै कार्यालयमा हाजिर हुनुपर्नेमा त्यसयता कसैलाई जानकारी नगराई गैरहाजिर रहेको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

कार्यालयमा अनुपस्थित भएपछि सम्बन्धित निकायले उनको खोजतलास गर्ने क्रममा काभ्रेको बेथानचोक गाउँपालिका– ५ स्थित उनको घरमा सूचना टाँस गरिएको थियो । त्यति गर्दासमेत उनी कार्यालयमा उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । 

सूचना प्रकाशित भएको ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन लामालाई गृहले निर्देशन दिँदै भनेको छ, ‘अन्यथा तपाईं उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को बिदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसुरमा सोही नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?