‘जेनजी विद्रोहले भ्रष्टाचार र नातावाद खारेज गरेको छ’

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का नेता सन्तोष परियारले जेनजी विद्रोहले मुलुकमा सुशासन, समानता र समावेशी नेतृत्वको नयाँ चेतना जगाएको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै परियारले जेनजी आन्दोलनले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै अब ती विरुद्धको लडाइँलाई संस्थागत रूपमा अगाडि बढाउने जिम्मेवारी राजनीतिक दलहरूमा रहेको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनले भ्रष्टाचारलाई खारेज गरेको छ, कुशासनलाई खारेज गरेको छ, नातावाद र कृपावादलाई खारेज गरेको छ। अमुख जाति, भाषा वा संस्कृतिका मानिस मात्र राज्यसत्तामा पुग्ने परम्परालाई पनि यो आन्दोलनले चुनौती दिएको छ।’

परियारका अनुसार राज्य संरचनामा एउटै जाति, समुदाय र लिंगको नेतृत्वको तथ्याङ्कले नै देशको विकासमा अवरोध पुर्‍याइरहेको छ । उनले नेपाली समाजलाई अझ लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी दिशातर्फ लैजान दलहरू चनाखो हुनुपर्नेमा जोड दिए ।

रास्वप नेता परियारले पार्टी जेनजी आन्दोलनले उठाएका एजेन्डा आत्मसाथ गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनका शब्दमा, ‘राष्ट्रिय स्वतन्त्र पार्टी जेनजी आन्दोलनको मर्म र मागअनुसार नै अघि बढ्नेछ । अहिले पार्टीभित्र पनि यही दिशामा गम्भीर बहस र छलफल भइरहेको छ ।’

परियारले जेनजी विद्रोहले सिर्जना गरेको नयाँ राजनीतिक वातावरणले पुरानो सोच र एकाधिकारवादी संरचनामा ठुलो चुनौती दिएको भन्दै त्यसलाई अवसरको रूपमा लिनुपर्ने निष्कर्षसमेत प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?