गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित गरिएको छ । 

बुधबार बोलाइएको समितिको बैठकमा गणपूरक संख्या पुगे पनि परिवर्तित राजनीतिक परिस्थितिमा सबै सदस्यको सहभागिता सुनिश्चित गर्न बैठक स्थगित गरिएको हो ।

समिति सभापति तुलसीकुमारी दाहालका अनुसार बैठक अब कात्तिक २३ गते बस्नेछ । ‘आज हाम्रो कोरम पुगेको थियो तर अहिलेको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थिति रहोस् भन्ने हेतुले बैठक स्थगित गरिएको हो,‘सभापति दाहालले भनिन् ।

उनका अनुसार आजको बैठकमा विधेयकलाई कसरी अगाडि बढाउने, आर्थिक वर्ष २०८१/०८२ को समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, संघीय एकाइबिचको अन्तरसम्बन्ध र सुदूरपश्चिम प्रदेशमा हुने छलफलसम्बन्धी तयारी गर्ने लगायतका विषयवस्तु कार्यसूचीमा रहेका थिए ।

समितिले आगामी बैठकमा सुदूरपश्चिम प्रदेशसभा र त्यहाँका स्थानीय तहसँग विधि निर्माण, कानुन कार्यान्वयन र विधेयक छलफल प्रक्रियाबारे प्रत्यक्ष संवाद गर्ने योजना बनाएको छ ।

सभापति दाहालका अनुसार कात्तिक २३ गतेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग समेत छलफल गरिनेछ । 

सो बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि र सरोकारवालाहरूसँग चलचित्रसम्बन्धी विधेयक लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?