निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

लोकपथ
119
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग मुलुकको राजनीतिक अवस्था, निर्वाचन तयारी तथा सरकारका काम–कारबाहीबारे छलफल गर्दै उनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार अधिकतम प्रयासरत रहेको बताइन् ।

उनका अनुसार सरकारको प्रयास र राजनीतिक दलबिचको निरन्तर संवादका कारण निर्वाचनको वातावरण क्रमशः सकारात्मक बन्दै गएको छ ।

प्रधानमन्त्री कार्कीले सबै पक्षलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र त्यसपछि नयाँ सरकारलाई जिम्मा हस्तान्तरण गर्ने आफ्नो मनसाय रहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने हाम्रो प्रमुख उद्देश्य हो । राजनीतिक दलहरूलाई निषेध गरेर होइन, उत्साहपूर्वक सहभागिता गराएर फागुन २१ को निर्वाचन सम्पन्न गर्नेछौँ ।’

उनले असहज परिस्थितिमा सरकारको नेतृत्व लिएको उल्लेख गर्दै आलोचनाबाट नडराउने र जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गरिन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?