काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज थप चार जनालाई मन्त्री नियुक्त गरेका छन् । उनीहरूको शपथ दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारीसमेत भइरहेको छ ।
प्रधानमन्त्री कार्कीले थप मन्त्रीहरूको सूची राष्ट्रपति कार्यालयमा समेत पठाइसकेकी छिन् । आइतबार थपिने मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् ।
गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने भनिएकोमा अन्तिम समयमा उनको मन्त्रालय परिवर्तन गरिएको हो ।
भूमिसुधार मन्त्री बन्न लागेका श्रेष्ठ लामो समयदेखि काठमाडौं उपत्यकालगायत सांस्कृतिक क्षेत्रको मौलिक सम्पदाको संरक्षण, संवर्द्धन र जगेर्ना अभियानमा क्रियाशील व्यक्ति हुन् । उनले रानीपोखरी, वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे श्रेष्ठले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।
स्वास्थ्यमन्त्री बन्न लागेकी गौतम पूर्वस्वास्थ्य सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।
बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन् । सामाजिक कार्यक्रममा उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारीअघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथिसमेत हुन् ।
सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् । उनले संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए । दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका उनी २०७७ साल जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया