काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनका नाममा भएका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको आवरणमा आपराधिक क्रियाकलाप गर्नेहरूको पहिचान भइसकेको बताउँदै, समाजलाई धमिल्याउने यस्ता गतिविधि सह्य नहुने स्पष्ट पारे ।
उनले भने, ‘जेनजी आन्दोलनको बहानामा समाजलाई धमिल्याउन खोज्ने आपराधिक प्रवृत्तिहरू पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो र त्यो आपराधिक कार्य नै हो । त्यस्ता कार्यहरू दण्डित हुनुपर्छ, उनीहरू क्रमशः दण्डित हुन्छन् भन्नेमा आश्वस्त रहनुहोस् ।’
खापुङले आन्दोलनपछि प्रहरीको मनोबल खस्केको भन्ने धारणा असत्य भएको पनि बताए । उनका अनुसार स्थानीय जनताको सहयोगमा प्रहरी चौकीहरू पुनःस्थापना भइसकेका छन् र प्रहरी संगठन पहिलेभन्दा बढी सक्रिय रूपमा काम गरिरहेको छ ।
‘प्रहरीको मनोबल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति जनताको अपेक्षा ठुलो छ, तर प्रहरीको दायित्व भनेको आपराधिक गतिविधिलाई रोक्नु र आवश्यक परे ‘नो’ भन्नु हो, ‘उनले भने ।
प्रहरी महानिरीक्षक खापुङले शान्ति सुरक्षा कायम राख्ने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी गर्दै, समाजलाई अस्थिर पार्ने प्रयासहरूलाई कडा रूपमा नियन्त्रण गरिने स्पष्ट सन्देश दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया