धनुषा । मिथिलाञ्चलको सबैभन्दा ठुलो पर्वका रूपमा मनाइने छठ पर्व आजदेखि औपचारिक रूपमा सुरु भएको छ । जनकपुरधामलगायत मिथिला क्षेत्रका विभिन्न पोखरी र घाटहरूमा सजावट, सरसफाइ र तयारीका काम तीव्र गतिमा भइरहेको छ ।
जनकपुरधामका प्रसिद्ध गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीलगायतका घाटहरूमा अहिले रंगीन बत्ती र पण्डालको काम अन्तिम चरणमा पुगेको छ ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष विगतभन्दा अझ राम्रो व्यवस्था र आकर्षक सजावट गरिएको छ । उनले भने, ‘घाटको सरसफाइदेखि सजावटसम्मका सबै काम पूरा हुँदैछन् । प्रत्येक वर्षजस्तै यस वर्ष पनि भक्तजनहरूका लागि राम्रो व्यवस्था मिलाइएका छन् ।’
गुप्ताका अनुसार यस वर्ष प्रतिअर्घ्य शुल्क ६०० निर्धारण गरिएको छ । उनका अनुसार सबै श्रद्धालुले शुल्क तिर्नुपर्ने छैन, तर स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने प्रचलन रहेको छ ।
अरगजासर छठ समितिका सचिव वीरेन्द्र कर्णले पनि दसैँ सकिएसँगै तयारी सुरु गरेको बताए । उनले भने, ‘घाटमा सजावट र सरसफाइ भइरहेको छ । यहाँ हिन्दु र मुस्लिम दुवै समुदायका मानिसहरूको सहभागिता रहने गर्छ । सहयोग स्वरूप अर्घ्य राख्नेहरूले स्वैच्छिक रूपमा योगदान गर्छन् ।’
शान्ति सुरक्षाको दृष्टिले पनि प्रहरीले विशेष तयारी गरेको छ । समितिहरूले प्रहरीसँग समन्वय गरी घाट क्षेत्रलाई सुरक्षित बनाउने तयारी गरेका छन् ।
जनकपुरधामका बजारहरूमा छठका सामान किन्नेहरूको भीड लागेको छ । बाँस र माटोबाट बनेका सामानहरू जस्तै घैँटो, टोकरी, नाङ्लो, कनसुपती, हात्ती, सूप आदि अहिले उच्च मागमा छन् । मिथिलाजीहरू छठमा प्रयोग हुने सामग्रीलाई पूर्ण रूपमा घरेलु उत्पादनबाट तयार पार्ने गर्छन् । आफ्नै खेतको गहुँ, चामल आदिबाट पिठो बनाएर ठेकुवा, भुसवा लगायतका पकवान तयार गरिन्छ ।
चार दिनसम्म मनाइने छठ पर्वको आज पहिलो दिन ‘नहाय–खाय’ विधिले सुरुवात भएको छ । भोलि आइतबार ‘खरना’का दिन उपवास बसेर रातमा खीर चढाइन्छ । सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ ।
मिथिलाञ्चलभर छठ पर्वले धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको माहोल ल्याएको छ । भक्तजनहरू पवित्रता, श्रद्धा र भक्ति भावनासाथ सूर्यदेवको आराधनामा जुट्न तयारी अवस्थामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया