काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका-१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ ।
आगलागीमा परी एक करोड बराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार बलराम बलामीको घरबाट सुरु भएको आगलागी जोडिएको घरमा पनि फैलिएको थियो ।
‘विद्युत् गडबढका कारण आगलागी हुँदा नगद १० लाखसहित रु २५ लाख बराबरको सुनचाँदीको गरगहना, १८ लाख बराबरको अन्नबाली र भाँडावर्तनसहित ढुङ्गामाटोले बनेका दुई वटा घर पूर्ण क्षति भएको छ,‘प्रनाउ लामाले भने, ‘स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।’
घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ । जिल्ला प्रशासनबाट नगद र रेडक्रस नुवाकोट शाखामार्फत गैह्रखाद्य (बन्दोबस्ती) सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया