चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन

लोकपथ
140
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता  वर्षमान पुनले आगामी फागुन २१ गते निर्धारित निर्वाचन सफल पार्नु देशको अनिवार्य जिम्मेवारी भएको बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा उनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘संविधानलाई सही बाटोमा ल्याउन तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौँ र सबै राजनीतिक दललाई पनि त्यसको पक्षमा उभिन आग्रह गर्छौँ ।’

उनका अनुसार केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माओवादी केन्द्र निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका थिए ।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। हामीले भन्यौँ माओवादी चुनावको पक्षमा छ, तर अरू दलले पनि त्यसका लागि योगदान दिनुपर्छ,’ पुनले भने ।

पुनले भदौ २३ गतेको जेनजी आन्दोलनलाई जनआवाजको सही अभिव्यक्ति दिँदै भदौ २४ गते भएको तोडफोड र हिंसात्मक गतिविधि बाह्य घुसपैठीयाको परिणाम भएको दाबी गरे । उनले दुवै दिनका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरे ।

कांग्रेस–एमाले गठबन्धनबाट बनेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएकाले जनतामा निराशा र आक्रोश फैलिएको पुनको आरोप छ ।

‘ओलीको निरंकुशता, स्वेच्छाचारिता र भ्रष्ट चरित्रविरुद्ध जनता सडकमा आएका हुन्,’ उनले भने, ‘हामीले पटक–पटक जनताको भावना बुझ्न आग्रह गर्‍यौँ, तर सरकारले सुनेन ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइको गलत व्याख्या भएको दाबी गर्दै भने, ‘प्रचण्डले सिंहदरबार जलाउन भनेका होइनन्, जनताको असन्तुष्टि सरकारले बुझोस् भन्ने सन्देश दिएका हुन् ।’

सुशासनका सवालमा माओवादी केन्द्र अन्य दलभन्दा फरक रहेको पुनको दाबी छ । ‘प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेका कदम नै त्यसको प्रमाण हुन्,’ उनले जोड दिए ।

विगतका सबै चर्चित भ्रष्टाचार र अनियमितता प्रकरणको छानबिन हुनुपर्नेमा जोड दिँदै उनले माओवादी केन्द्र त्यसका लागि सहयोग गर्न तयार रहेको पनि बताए ।

‘हामी सरकारमा रहेर नेता, कार्यकर्ता वा समर्थकको शिर निहुराउने काम गरेका छैनौँ,’ पुनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?