पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छ : उपमहासचिव ज्ञवाली

लोकपथ
210
Shares

भक्तपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नयाँ नेतृत्वको फैसला गर्ने बताएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै ज्ञवालीले तोकिएको मितिमा नै महाधिवेशन सम्पन्न हुने र त्यही महाधिवेशनले नेतृत्व चयन गर्ने बताए ।

हालै सम्पन्न तीनदिने केन्द्रीय कमिटी बैठकमा पार्टीका विषयमा विस्तृत छलफल भएको बताउँदै उनले बैठकमा उठेका नेतृत्वसम्बन्धी प्रश्नहरूको समाधान महाधिवेशनमार्फत हुने स्पष्ट पारे ।

उनले भने, ‘बैठकमा केही साथीसँग नेतृत्वमाथि प्रश्नहरू आएका थिए । ती प्रश्न अनुत्तरित रहनु हुँदैन भन्ने निष्कर्षमा पुग्दै पार्टीको सार्वभौमसत्ता कार्यकर्तामै निहित हुने भएकाले अब महाधिवेशनमै निर्णय गर्ने सहमति जुटेको हो ।’

ज्ञवालीले महाधिवेशनले कसलाई नेता बनाउने र कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने बताउँदै सोही अनुसार पार्टी अगाडि बढ्ने बताए ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य महेश बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, एमाले जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतका नेताहरूले पनि सहभागिता जनाएका थिए ।

नेताहरूले हालैको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?