गृहमन्त्री अर्यालको आरोप : ‘केही तत्त्वहरू निर्वाचन बिथोल्न सक्रिय छन्’

लोकपथ
287
Shares

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्त्वहरू आगामी निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय रहेको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री अर्यालले सरकारले निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउने तयारी गरिरहेको बताउँदै निर्वाचनको माहोल बिगार्ने प्रयास गर्नेहरूप्रति सरकार संयमित रहँदै सम्झाई बुझाई गर्ने तर, आवश्यक परे कानुनी कदम चाल्ने चेतावनी दिए ।

उनले भने, ‘कोही–कोही एलिमेन्टले भड्काउने प्रयास गरेको देखिन्छ । ती तत्वहरूलाई सकभर सम्झाई बुझाई गर्छौँ, तर नमाने सरकारले आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी पनि तोकिएकै मितिमा गराउँछ ।’

गृहमन्त्री अर्यालले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने उद्देश्यले बनेको दाबी गर्दै सबै सरोकारवाला पक्षलाई संवादमा सहभागी हुन आह्वान गरे । उनका अनुसार, सरकारले राष्ट्रपतिदेखि विभिन्न तहमा संवादको वातावरण बनाउन पहल गरिरहेको छ ।

‘निर्वाचनका लागि सबै संवादमा आउनुपर्छ, परिस्थितिलाई कसैले पनि भड्काउने काम गर्नु हुँदैन,‘उनले भने ।

त्यस्तै उनले प्रहरी संगठनको मनोबल बढाउन सरकार लागिपरेको उल्लेख गर्दै विगतमा व्यापक राजनीतिक हस्तक्षेपका कारण प्रहरीको मनोबल कमजोर भएको बताए । ‘राजनीतिक दलहरूले प्रहरीको दुरुपयोग गरे, अहिलेको सरकार त्यसलाई सुधार्ने दिशामा लागेको छ, ‘गृहमन्त्री अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?