जेनजी आन्दोलनमा प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ : रमेश लेखक

लोकपथ
777
Shares

काठमाडौं । तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गरेका छन् ।

शुक्रबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गरे ।

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आन्दोलनकारीहरुलाई गोली हान्न आदेश दिएको आरोप लाग्दै आएको छ । त्यस्तै सञ्चारकर्मीहरुसँग बोल्दै उनले आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत गरे ।

उनले आन्दोलनको पहिलो दिनमै ठूलो धनजनको क्षति भएका कारण आफूले गृहमन्त्रीको पदबाट राजीनामा गरेको पनि उल्लेख गरे ।

‘जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रुपमा मैले गोली चलाउन आदेश दिएको भन्ने खालका चर्चाहरु उठेका छन् । तर म के आग्रह गर्न चाहन्छु भने, सम्माननीय प्रधानमन्त्री जो सुकै भए पनि र गृहमन्त्रीले आदेश गर्ने भन्ने विषयहरु यी होइनन् । र त्यस्तो कुनै खालको बल प्रयोग गर्ने, आदेश गरिएको छैन प्रधानमन्त्रीको तर्फबाट र मेरो तर्फबाट यो कुरा म स्पष्ट गर्न चाहन्छु,’ लेखकले भने, ‘धेरै जनाको ज्यान गएको छ । सरकारी संरचना र व्यक्तिगत निजी आवासहरुमा ठुलो आगजनी भएको छ । ति घट्नाहरुका प्रति मलाई गहिरो कुरा भयो । लगत्तै मैले मन्त्री पदबाट राजीनामा दिएको कुरा यहाँहरुमा विदितै छ ।’

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा तय गर्न निरन्तर पार्टी बैठक चलिरहेको उनको भनाइ छ । उनले पार्टीको अगामी कार्यनीतिको बारेमा पार्टीभित्र गम्भीर छलफल भइरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?