ओलीले भने : ‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस्’

लोकपथ
756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिनका लागि बनेको आयोगलाई अस्वीकार गरेका छन् ।

भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै ओलीले आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि नै प्रश्न उठेको भन्दै एमाले र जनताले उक्त आयोग नमान्ने घोषणा गरे ।

उनले भने, ‘आयोगमा बस्नु अघि नै उहाँका अभिव्यक्तिहरूले उहाँको निष्पक्षता माथि प्रश्न उठाएको छ । यस्तो अवस्थामा नैतिकताका आधारमा राजीनामा दिनु पर्ने हो ।’

ओलीले सम्पत्ति छानबिनको विषयलाई जोड्दै अहिलेका मन्त्रीहरूको सम्पत्ति पनि सार्वजनिक छानबिन गर्न चुनौती दिए । ‘एक पटक होइन, १० पटक गर सम्पत्ति छानबिन,‘उनले भने, ‘मन्त्रीज्यूहरू, आफ्नै सम्पत्ति छानबिन गराउने आँट गर्नुहुन्छ ?’

उनले हालको सरकारले ओलीलाई पक्राउ गर्ने उद्देश्यले आयोग गठन गरेको आरोप लगाए । ‘पहिले नै केपी ओलीलाई समाउनुपर्छ भन्नेहरूको आयोग बनाएर प्रतिवेदन लेख्ने नाटक गरिएको छ, ‘ओलीले भने, ‘यस्ता नक्कली आयोग एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन ।’

ओलीले आयोगका सदस्यहरू निष्पक्ष हुन नसक्ने दाबी गर्दै भने, ‘कोही मानिस विरोधीबाट निष्पक्ष हुनसक्छ ? यस्तो आयोगबाट न्यायको अपेक्षा गर्नु नै व्यर्थ छ ।’

उनले  भने, ‘एमालेलाई यो आयोग मान्य छैन, नेपाली जनतालाई पनि मान्य छैन। तपाईँहरूले प्रतिवेदन लेख्नुस्, बुझाउनुस्, फैसला गर्नुस् हामी मान्दैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?