काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले विजयी सुरुआत गरेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी-१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो ।
पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार प्रदर्शन गर्दै ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको योगदान दिए । त्यसैगरी गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०-२० रन तथा कप्तान रोहित पौडेलले १६ रन जोडे ।
बलिङतर्फ कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई-दुई विकेट लिए भने मोहम्मद आकिफ फरुकले एक विकेट झारे ।
१४२ रनको लक्ष्य पछ्याउन उत्रिएको कुवेत १८ दशमलव एक ओभरमै सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो । कुवेतका लागि क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन बनाए ।
नेपालका बलरहरू उत्कृष्ट फर्ममा देखिए । सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक-एक विकेट हात पारे ।
यस जितसँगै नेपालले समूह ‘बी’ मा दुई अंक जोड्दै विश्वकप छनोटको यात्रामा उत्साहजनक सुरुआत गरेको छ । नेपालले अब समूह चरणको अर्को खेल शुक्रबार जापानविरुद्ध खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया