युनिटी कप टी-२० : नेपालद्वारा वेस्ट इन्डिज पराजित, एक खेल अगावै उपाधि हात

लोकपथ
651
Shares

काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी-२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले हराउँदै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

पहिलो खेलमै ऐतिहासिक जित हासिल गरेको नेपालले दोस्रो खेलमा समेत उत्कृष्ट प्रदर्शन गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६८ रनको योगदान गरे भने सन्दीप जोराले ३९ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ६३ रन बनाए । मोहम्मद आदिल आलमले थप ११ रन जोडे ।

१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो । जेसन होल्डरले १५ बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक २१ रन बनाए भने एकिम अगष्टले १७ र अमिर जांगोले १६ रन जोडे ।

नेपालका आदिल आलमले घातक बलिङ गर्दै ४ विकेट हात पारे । कुशल भुर्तेलले ३ विकेट लिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट जोडे ।

वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान २-२ विकेट लिएका थिए भने जेडिया ब्लेड्सले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?