काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूलाई बाँकी भुक्तानी समयमै उपलब्ध गराउन अर्थमन्त्री रामेश्वर खनालसँग माग गरेका छन् । शुक्रबार महासंघको टोली मन्त्रायलमा अर्थमन्त्रीसँग भेट गरेका थिए ।
अध्यक्ष सिंहले भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै भने, ‘जेनजी आन्दोलका क्रममा सरकारका कार्यालय, सडक विभाग तथा विकासे अड्डा आगजनीबाट नोक्सान पुगेको छ। आगजनीका कारण फाइलहरू समेत जलेका कारण भुक्तानी रोकिएको छ। त्यसैले निर्माण व्यवसायीहरूले समयमै भुक्तानी पाउनुपर्छ र यसमा सहजता हुनुपर्छ ।’
उनीहरूले अर्थमन्त्रीसँग ६ महिनासम्म निर्माण क्षेत्रमा काम गर्ने कम्पनीका चेकहरू बाउन्स नहुने व्यवस्था गर्न र तिर्नुपर्ने सावाँ तथा ब्याजलाई पुँजीकरण गरेर भुक्तानी गर्न सुझाव दिएका छन् ।
भ्रष्टाचार नियन्त्रणका लागि उपभोक्ता समिति खारेज गर्ने निर्णयको स्वागत गर्दै सिंहले भने, ‘१० लाख रुपैयाँभन्दा माथिको काममा उपभोक्ता समितिले काम गर्न नपाउने व्यवस्था निर्माण क्षेत्रमा भ्रष्टाचार कम गर्ने महत्त्वपूर्ण कदम हो। विगतमा सरकारसँग सम्झौता भएका योजनाहरूमा पारदर्शिता सुनिश्चित गर्नुपर्छ ।’
अध्यक्ष सिंहले थपे, ‘निर्माण क्षेत्रमा रहेका विकृतिहरू पहिचान भएको छ । अर्थतन्त्र सुदृढ गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न सरकार अघि बढेको छ। यसैले बाँकी भुक्तानीमा सहजता ल्याउने र बैंकिङ सुविधा सुधार गर्ने माग हामीले उठाएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया