काठमाडौं । साउन अन्तिम साता रौतहटमा बरामद भएको ६ सय बोराभन्दा बढी चिनी गायब बनाइएको प्रकरणमा नम्बर ११ गण रौतहटका तत्कालीन गणपति एसपी सन्तोषकुमार बस्नेत र सोही गणका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामामाथि कारबाही गरिएको छ ।
स्रोतका अनुसार, तत्कालीन गणपति बस्नेतलाई नसियत दिनुका साथै ३ वर्ष सीमा क्षेत्रमा पोस्टिङ नगरिने भएको छ ।
यो प्रकरणमा सुरुमा नम्बर २ बाहिनी कार्यालयले अनुसन्धान सुरु गरेको थियो । बाहिनी कार्यालयले भने नम्बर ११ गणका गणपति बस्नेतलाई ध्यानाकर्षण मात्रै गराएको थियो । तर मुख्यालयमा बोलाइएका डीएसपी लामाले उनको संलग्नताबारे पनि बताएपछि उनलाई मुख्यालय तानेर सोधपुछ गरिएको थियो । सोधपुछ गरिएको पहिलो दिन नै उनलाई जिम्मेवारीबाट हटाएर अर्का एसपी रामहरि अधिकारीलाई गणपतिका रूपमा पठाइएको थियो ।
यसैगरी, डीएसपी लामाको बढुवा ३ वर्षका लागि रोक्का गरिएको छ । साथै उनलाई ५ वर्ष सीमा क्षेत्रमा पोस्टिङ नगरिने गरी कारबाही गरिएको छ । उनी लामो समयदेखि २ नम्बर प्रदेश क्षेत्रभित्रै कार्यरत थिए ।
यो प्रकरणमा मुछिएका अर्का डीएसपी राजेन्द्र बस्नेतलाई भने जिम्मेवारीमै फिर्ता पठाइएको छ । उनलाई सुरक्षा बेस सन्तपुरमा नै पठाइएको हो ।
उनीहरू तीनै जनालाई सशस्त्र प्रहरी मुख्यालयमा बोलाएर छानबिन गरिएको थियो । यो प्रकरणमा गणपति बस्नेतसहित १९ जनामाथि अनुसन्धान गरिएको थियो ।
बढुवा रोक्कासम्मको कारबाहीमा परेका डीएसपी लामा ५ महिनाअघि मात्रै रौतहट पुगेका थिए । उनी यसअघि पनि रौतहटको बोर्डर आउट पोस्ट (बीओपी)मा बसेका थिए । सशस्त्र प्रहरी प्रस्तावित गुल्म गौरका इन्चार्ज डिएसपी गाण्डीवराज स्याङतान साउन २६ मा बिदामा थिए । उनको स्थानमा अमर लामाले त्यही २६ गते कमान्ड सम्हालेका थिए । लामा साउन १३ गते मात्रै ११ नम्बर गणमा हाजिर भएका थिए ।
यो छापा हान्दाका मुख्य कमान्डर नै लामा भएकाले उनैको मुख्य भूमिका हुनुपर्ने भन्दै सशस्त्रले त्यही अनुसारको कारबाही गरेको हो ।
डीएसपी लामासँगै छापा हान्न गएका टोलीका अन्य १७ जनामध्ये एक डीएसपी र तीन इन्स्पेक्टरमाथि पनि अनुसन्धान गरिएको थियो । उनीहरूमाथि डीएसपी लामाले भनेअनुसारको काम गरेको आरोप लागेको थियो ।
यो प्रकरणमा इन्स्पेक्टर रामचन्द्र लागेजुलाई बाहिनीबाट नै नसियत दिइएको थियो ।
भएको के थियो ?
शिवनगरस्थित उपेन्द्र सहनीको घरमा ठूलो परिमाणमा अवैध चिनीलगायतका सामग्री भण्डारण गरिएको पत्ता लागेपछि गत साउन २९ गते सशस्त्र प्रहरी मुख्यालयले त्यहाँ छापा मार्न भनेको थियो । निर्देशनबमोजिम चिनी भण्डारण गरिएको ठाउँमा छापा मार्न सशस्त्र प्रहरी बल दुधियाभार बेसका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र लगेजुको कमान्डको टोली सबैभन्दा पहिला पुगेको थियो । उनको टोली पुगेर अवैध सामान आशंका गरिएको घरलाई घेरा हालेको थियो ।
लगेजुको टोली पुगेपछि सशस्त्र बेस सन्तपुरका डीएसपी राजेन्द्र बस्नेत, सशस्त्र बेस देवाहीका प्रहरी निरीक्षक दधिराम पौडेल र ११ नम्बर गणका प्रहरी निरीक्षक गणेश बोहराको नेतृत्वमा सशस्त्र प्रहरी बलको टोलीले घेरा हालेर विभिन्न कानुनी प्रक्रिया पूरा गरेको थियो । त्यसपछि मुचुल्का टोली लिएर पुग्न माथिल्लो निकायबाट निर्देशन आएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामा करिब साढे ४ बजे पुगेका थिए । डीएसपी लामाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका नासु शम्भु राउत, गौर भन्सारका नासु दिनेशकुमार घिमिरे, राष्ट्रिय अनुसन्धानका वरिष्ठ अनुसन्धान सहायक हरिकिशोर सहनी, वडाध्यक्ष रामबाबुप्रसाद चौधरी र वडा सदस्य शम्भु राय यादवको टोली पुगेको थियो ।
त्यहाँ छापा मार्ने, कानुनी प्रक्रिया पूरा गर्ने, मुचुल्का उठाउने काम भइरहँदा ११ नम्बर गणका गणपति सन्तोषकुमार बस्नेत भने बाहिनीपति (डीआईजी) ढकालसँगै बर्दिबासस्थित बाहिनी कार्यालयमा थिए । उनी त्यसै रात रौतहटस्थित गणको कार्यालयमा फर्किएका थिए ।
तर ७०० बोरा बरामद गरिएकोमा १०६ बोरा मात्रै भन्सार कार्यालयमा बुझाइएको खुलेपछि उनीहरूमाथि एक्सन लिइएको हो । १०६ बोरा चिनीसँगै ९ बोरा सिमेन्ट, १० बोरा मल, लुगा धुने सर्फ ९ बोरा पनि बरामद गरेर बुझाइएको भन्सारको रेकर्डबाट नै खुलेको थियो ।
यो प्रकरणमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले नै घटनाको छानबिन गर्न निर्देशन दिएका थिए ।
सशस्त्रबाहेक अन्यको पनि संलग्नता
सीमाक्षेत्र भन्दा ३५ किलोमिटरभित्रको बजारमा त्यति ठूलो मात्रामा अवैध सामान भण्डारण हुनुमा जिल्ला प्रशासनदेखि प्रहरी प्रशासनका उच्च अधिकारीहरूको पनि मिलेमतो रहेको आशंका गरिएको छ । यसमा रौतहटका सीडीओदेखि भन्सार, प्रहरी र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसमेतको मिलेमतो देखिएको आशंका त्यतिबेला नै गरिएको थियो ।
शिवनगरमा छापा मारिएको गोदाम नेपाल भारत सिमानाकाबाट करिब ३५ किलोमिटर टाढा छ । रौतहटको बंकुल, रामपुर खाप, मठिया नाका प्रयोग गरेर अवैध भारतीय सामान नेपालतिर प्रवेश गर्दा सशस्त्र प्रहरीको बंकुल युनिट, रामपुर खाप युनिट, मठिया अस्थायी बेस हुँदै फतुवा युनिट तथा देवाही गोनाही युनिट पार गर्दै दुधियाभारको एरियामा भण्डारण भएको थियो ।
भिडियो नै सशस्त्र मुख्यालय पुगेपछि बदमासी छताछुल्ल
स्रोतका अनुसार, सहनीको घरमा ठूलो परिमाणमा चिनी लुकाएर राखिएको सूचना सशस्त्र प्रहरीका घुमुवाहरूले केन्द्रीय कार्यालयमा पुर्याएका थिए । सशस्त्रका घुमुवा रोशन मिश्र, गगनदेव साह र रविकान्त मिश्रसहितको टोलीले गोदामभित्रै पुगेर भिडियो बनाएका थिए ।
प्रधान कार्यालयमा प्राप्त भिडियोमा ठूलो परिमाणको चिनी लुकाएर राखिएको देखिएपनि मुचुल्का गर्दा भने चिनी १०६ बोरा, सर्फ १० बोरा, रासायनिक मल १० बोरा, सिमेन्ट ९ बोरा भनी देखाइयो । त्यहाँ सिमेन्ट ९ बोरा देखिएपछि यो विषयमा त्यतिबेला नै प्रश्न उठेको थियो ।
अनि सुरु भयो छानबिन…
घटनाको भोलिपल्ट डीएसपी अमर लामासहित डिउटीमा खटिएका करिब १८ जनालाई सशस्त्र प्रहरी बल मधेस प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीमा हाजिर गराइएको थियो । अनुसन्धानको क्रममा करिब ३ दिन बाहिनीमै राखेर डिएसपी लामालाई हेडक्वाटर पठाइएको थियो । अनुसन्धानको लागि बाहिनीमा बोलाइएका बाँकी १७ सशस्त्र प्रहरी कर्मचारीलाई भने फिर्ता गरिएको थियो । सो घटनामा दुधियाभारका प्रहरी निरीक्षक लगेजुलाई भने नसियत दिइएको थियो । मुचुल्का गरिएको पत्रमा उनको हस्ताक्षर रहेकाले उनलाई नसियत दिइएको स्रोतको भनाइ छ । स्रोतका अनुसार, पत्रमा उनको हस्ताक्षर भएपनि छापा मारिएको स्थानमा डीएसपी लामाले उनलाई जान समेत दिएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया