जनमत पार्टीबाट अलग भएका नेताहरूले गठन गरे ‘जनस्वराज पार्टी’

लोकपथ
2.9k
Shares

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले नयाँ राजनीतिक दल गठन गरेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरमा डा.सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकपछि ‘जनस्वराज पार्टी’ नामक नयाँ दल गठन भएको हो ।

नयाँ पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुने जनाइएको छ । नेता ई.दीपक साहका अनुसार अध्यक्ष तोक्ने व्यवस्था नगरी विभिन्न विभागमार्फत जिम्मेवारी बाँडेर पार्टी सञ्चालन गरिनेछ  ।

हाल गठन भएका तीन विभागमध्ये राजनीतिक संगठन विभागको जिम्मेवारी ई.दीपक साहलाई, आर्थिक विभागको जिम्मेवारी ई.सुरेन्द्रनारायण यादवलाई तथा प्रशिक्षण विभागको जिम्मेवारी डा.सञ्जयकुमार साहलाई दिइएको छ । अन्य नेताहरूलाई पनि विभागीय जिम्मेवारी दिने तयारी भइरहेको बताइएको छ ।

साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने यादव कोषाध्यक्ष थिए । दुवैलाई अध्यक्ष डा.सीके राउतले कारबाही गरेर पार्टीबाट निकालेका थिए ।

जेनजी आन्दोलनपछि जनमतका उपाध्यक्ष अब्दुल खानसहित केही नेताले पार्टी छाडेका थिए । उनीहरू हाल गठन भएको नयाँ पार्टीमा प्रत्यक्ष संलग्न नभए पनि निरन्तर संवाद भइरहेको नेता साहले जानकारी दिए ।

‘जनस्वराज पार्टी’ ले व्यक्तिवाद नभई सामूहिक सहभागिता, पद नभई जिम्मेवारी र जवाफदेहिता, विभाजन नभई एकता र समानतामा जोड दिने घोषणा गरेको छ ।

पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति तथा भ्रष्टाचारमुक्त पारदर्शी राजनीति, स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?