अर्थमन्त्रालयद्वारा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा

लोकपथ
3.6k
Shares

काठमाडौं । अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि नेपाल राष्ट्र बैंकलाई ९ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, चालु आर्थिक वर्षको दोस्रो त्रैमासका लागि विनियोजित रकम पहिलो त्रैमासमै उपलब्ध गराउने निर्णय मन्त्रिस्तरीय रूपमा भएको हो । यस अन्तर्गत विगत सात त्रैमासमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई सोध भर्ना उपलब्ध गराइनेछ ।

नेपाल राष्ट्र बैंकले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान पाउन सकेको थिएन । निकासा भएसँगै कर्जा विस्तारका लागि थप सहज हुने अपेक्षा गरिएको छ । 

सहुलियतपूर्ण कर्जा अन्तर्गत कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म, महिला उद्यमशीलता र स्टार्टअप कर्जा २५ लाखसम्म, वैदेशिक रोजगारबाट फर्केका युवा तथा शिक्षित युवा परियोजना २० लाखसम्म र प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा ५ लाखसम्म उपलब्ध गराउन सकिने व्यवस्था छ ।

सरकारले यसरी बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि अनुदान प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?