६ घण्टाभित्र सडक खुल्नेगरी काम अघि बढाएका छौँ : मन्त्रालय

लोकपथ
1.7k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभर अवरुद्ध सडकहरू विशेष परिस्थितिबाहेक ६ घण्टाभित्र खोल्ने तयारी गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले शनिबार भएको बैठकमा उक्त जानकारी दिएका हुन् ।

बैठक भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा भएको थियो। सचिव शर्माका अनुसार, मौसमका कारण पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणघाट सडकखण्डको तुइन खोला क्षेत्रमा सडक अवरुद्ध भएको थियो । ‘राति ढुंगा खस्दा सुरक्षा कारणले काम रोकिएको थियो, बिहान सुख्खा पहिरो खसेको भए पनि सक्रिय अवस्थामा रहेको हुँदा तत्काल काम सम्भव थिएन, ‘उनले बताए ।

सचिव शर्माले भने, ‘सडक विभागको टोली घटनास्थलमा पुगिसकेको छ। मेसिन आधा घण्टादेखि एक घण्टाभित्र काम थाल्न सक्ने अवस्था बनाइएको छ । काम सुरु गरेपछि ४–६ घण्टाभित्र सडक खुल्ने छ, विशेष परिस्थितिबाहेक ।’

बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउने व्यवस्था गर्न माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाढी र पहिरोका कारण हालको अवस्था नाजुक रहेको भन्दै बसको समय परिवर्तनको सुझाव दिएका थिए ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरू उपस्थित थिए । मन्त्री घिसिङले चाडपर्वका समयमा यातायात सहज बनाउन फास्ट ट्रयाकमा काम गर्ने तरिका आन्तरिक छलफलमार्फत सुनिश्चित हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?