लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की

लोकपथ
756
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीको रूपमा व्याख्या गरेकी छन् । 

संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी पुस्ताको आन्दोलन देशमा विद्यमान समस्याहरूको परिणामका रूपमा प्रकट भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र र सक्षम न्यायपालिका, कानुनी राज्य तथा सुशासन जस्ता लोकतान्त्रिक मूल्य मान्यतामा खरो उत्रिन नसक्नु नै आन्दोलनको कारण बनेको स्पष्ट गरिन् ।

उनले अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनप्रति सजग रहेका युवाले उठाएका रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य र विकासका सवाललाई सबै पुस्ताको साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उल्लेख गरिन् ।

‘यी एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षा अनुसार काम गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले आफू कुनै शासकीय आकांक्षा वा पदको लालसाका कारण प्रधानमन्त्री नभई, देश संकटमा रहेको संवेदनशील अवस्थामा परिवर्तनगामी युवापुस्ताको आग्रहका आधारमा नेतृत्व लिन बाध्य भएको बताइन् । नेपालको संविधान अनुसार आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित आफू प्रधानमन्त्री बनेको उनको भनाइ थियो ।

संविधान दिवसलाई सबै नेपालीले गौरवका साथ मनाउने दिन भएको उल्लेख गर्दै उनले यो दिवसलाई मात्र उत्सव नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?