काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानलाई जनताले पटक–पटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि बताएका छन् ।
संविधान दिवसको अवसरमा आज जारी सन्देशमा उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक आन्दोलनकै उपलब्धिस्वरूप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरे।
सभापति देउवाले जीवन उत्सर्ग गर्ने वीर सहिदहरूको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै संविधान दिवसमा श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले असोज ३, २०७२ मा कांग्रेसको नेतृत्वमा जनप्रतिनिधिद्वारा पारित संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका मूल्यलाई आत्मसात् गरेको र सबै नागरिकको हक तथा अधिकार सुनिश्चित गरेको बताए।
संविधान घोषणा भएको एक दशक पूरा भएको दिनलाई गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले स्वतन्त्रता र समानताको अनुभूति गर्दै आएको देउवाको भनाइ छ। उनले न्याय, समानता, स्वतन्त्रता र बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था कायम गर्न प्राण आहुति दिने महान् सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया