संविधानले विभेद अन्त्य गरी राष्ट्रिय एकता कायम गरेको छ : राष्ट्रपति पौडेल

लोकपथ
413
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतालाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्ग प्रशस्त गरेको उल्लेख गरे।

राष्ट्रपतिले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको प्रष्ट पारे। उनले सबै नागरिकले समान सेवा-सुविधा र सामाजिक सुरक्षामा पहुँच पाउनुपर्नेमा जोड दिँदै संविधानको मर्मलाई व्यवहारमा उतार्न आह्वान गरे।

पौडेलले नेपालको संस्कृति, प्रकृति र जलस्रोतले रोजगारी तथा आम्दानीका असीम सम्भावना बोकेको उल्लेख गर्दै सुशासनमार्फत ती स्रोतको उपयोग गर्न सके देश छिट्टै समुन्नत बन्ने विश्वास व्यक्त गरे।

संविधानले हिमाल, पहाड र तराईमा रहेका बहुजातीय, बहुभाषी र बहुसंस्कृतिलाई समान संरक्षण दिएको उल्लेख गर्दै उनले आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच नपरोस् भन्ने अपेक्षा गरे।

संविधान दिवसका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिंदै गणतन्त्र स्थापनार्थ आहुति दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले आन्दोलनका नेता, कार्यकर्ता र आम नागरिकको योगदानप्रति सम्मान व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?