काठमाडौं । औसत रूपमा अबको १५ दिनमै मनसुन बहिर्गमन हुने समय भए पनि अहिले भने सक्रिय बन्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहनुका कारण मनसुन सक्रिय भएको जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार प्रायः मनसुन बहिर्गमन हुने समयमै सक्रिय हुने गर्छ । उनका अनुसार सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने भए पनि यो वर्ष सरदर मितिमै बहिर्गमन हुन्छ वा हुँदैन भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन ।
आज पनि देशभर सामान्यतया बदली रहने तथा बागमती र लुम्बिनी प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यससँगै केही नदीहरूमा पानीको बहाव बढ्ने चेतावनीसमेत विभागले दिएको छ । विभागका बाढीविद् विनोद पराजुलीका अनुसार दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व–पश्चिम, डोटी, कैलालीलगायत जिल्लामा बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
त्यस्तै इलाम, झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला लगायतका जिल्लामा पनि स–साना नदीहरूको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम सम्भावना रहेको विभागले चेतावनी दिएको छ ।
बाढी प्रभावित हुन सक्ने नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया