काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले रविलाई जेलबाट निकाल्न १० मिनेट मात्रै ढिला भएको भए ठुलो मानवीय क्षति हुनसक्ने भएकाले जेलबाट निकालिएको बताएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अर्यालले रविको सुरक्षाका लागि उनलाई निकाल्नुपरेको बताएका हुन् ।
जेन–जी आन्दोलनका क्रममा रवि लामिछानेलाई रास्वपाले घुसपैठ गरी जेलबाट जबरजस्ती निकालेको आरोप लागिरहेकै बेला रास्वपाले आफ्नो प्रष्टीकरण दिएको हो । उपसभापति अर्यालले रविको सुरक्षाका लागि मात्रै आफूहरूले रविलाई जेलबाट निकालेको प्रष्टीकरण दिएका हुन् ।
उपसभापति अर्यालले रवि लामिछानेलाई आफू जेलबाट निस्कँदै छु भन्ने कुराको समेत जानकारी नभएको भन्दै उनी जेलबाट तत्कालका लागि बाहिर आउनुमा उनको कुनै दोष नभएको बताएका हुन् ।
अर्यालले कारागार कार्यालयबाट रविका लागि दिइएको पत्र नक्कली नभई सक्कली नै रहेको तर हतार र हताश अवस्थामा पत्र तयार पार्दा ब्यहोरामा तलमाथि परेको बताए ।
अर्यालले भने, ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु । पत्र बुझ्ने म हुँ, पत्र मेरो अगाडि हस्ताक्षर भएको हो । पत्र फेक होइन, हतार र हतासमा ब्यहोराहरू तलमाथि भएको हुन सक्छन्, मिति हामीले सच्याएको होइन । सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ । यस्ता पत्रहरू कम्प्युटरमा भएकै ब्यहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान्, कुरा त्यति हो । गृह मन्त्रालय लगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ । यसमा सभापति ज्युलाई केही जानकारी छैन ।’
उपसभापति अर्यालले रास्वपाले लामिछानेलाई बाहिर ल्याएको नभई कारागार कार्यालयले नै सुरक्षाको कारण देखाएर रविलाई बाहिर लगिदिनुहोस् भनेर अनुरोध गरेको बताएका छन् ।
उनी भन्छन्, ‘पार्टी सभापतिलाई जेलले निस्क भन्यो, उहाँले पत्र माग्नुभयो; हामीले समन्वय गर्यौँ । यसमा उहाँको के दोष ? एकतर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन । १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो । समयमा सभापतिज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ ।’
अर्यालका अनुसार कारागार कार्यालयले लामिछाने र अन्य कैदी बन्दीको सुरक्षाका लागि नै कारागारले तत्कालका लागि बाहिर पठाएको दोहोराएका छन् । अर्यालले लामिछाने जेलबाट भागेको नभई तत्कालीन सुरक्षाका लागि बाहिर आएको र जुनसुकै बेला जेलमा फर्किन तयार रहेको बताए ।
अर्यालले भने, ‘दुनियाँले देखेको छ उहाँ भाग्नुभएको होइन । हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नख्खु कारागारको अवस्था ठिक छैन । त्यसैले सिडिओ लगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौँ, बोलाउने बित्तिकै आउँछौँ भनेर भनेका छौँ । आज पनि पार्टी सभापति कारागार आउन निस्कनुभयो, तर मैले म पहिला सिडिओ र जेलरसँग समन्वय गरेर कारागारको अवस्था बुझ्छु भने । म सिडिओ कार्यालयमा जेलर सा’पसहित बसेको थिएँ । कारागारमा ठुलो क्षति भएकाले सुरक्षा चुनौती कायम छ, आजभोलि नै उहाँहरूले खबर पनि गर्नुहुन्छ । पार्टी सभापतिको सुरक्षा अहिले पनि मेरो लागि पहिलो प्राथमिकता हो । हामीबाट र पार्टी सभापतिबाट कुनै गल्ती कमजोरी भएको छैन । सबै संयन्त्रसँग समन्वयमा बसेको मान्छेलाई बदनाम गराउन मिल्छ ? मुलुकको अवस्था जटिल छ, त्यता ध्यान दिनुस्, व्यक्तिको बदनामीमा नलाग्नुस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया