काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुकलाई सङ्क्रमणकालीन अवस्थाबाट शीघ्र निकाल्न राष्ट्रपतिलाई संवैधानिक र राजनीतिक पहल गर्न आग्रह गरेको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माले बिहीबार जारी विज्ञप्तिमा वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्नेमा जोड दिएकी छन् ।
राष्ट्रपतिले वार्ताका लागि जेनजी प्रतिनिधिलाई आह्वान गरिसकेको सन्दर्भमा अब सुरक्षा निकायको सहजीकरणमा अन्तरिम सरकार गठनको पहल गर्नुपर्ने महासंघको माग छ । यसका लागि पत्रकार महासंघसहित छ वटा पेसागत सञ्जाल तयार रहेको जनाएको छ ।
‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गी अड्डाबाट होइन,’ विज्ञप्तिमा भनिएको छ । महासंघले पछिल्लो समयमा सेनाले शान्ति–सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरेको छ ।
युवा पुस्ताले उठाएका संरचनात्मक सुधारका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै महासंघले सबै सरोकारवालालाई संयमित, संवेदनशील र जिम्मेवार बन्न अपिल गरेको छ ।
महासंघले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भएको आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ भने घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । साथै, आन्दोलनका क्रममा पत्रकार र सञ्चारमाध्यमलाई निशाना बनाइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा निरन्तर वकालत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया