काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ता संसद् भवन नयाँ बानेश्वरमा प्रवेश गरेपछि काठमाडौंमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेको हो ।
भिड अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा अहिले साँढे १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
काठमाडौंका सिडिओबाट जारी आदेशमा काठमाडौं महानगरपालिकाभित्रको नयाँ बानेश्वर क्षेत्रको चार किल्लामा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
कर्फ्यु जारी भएका क्षेत्रहरूमा बानेश्वर क्षेत्रको बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटेल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु जारी गरिएको छ ।
संसद् भवनको वरिपरि प्रदर्शनकारीलाई रोक्न चारैतर्फ कर्फ्यु जारी गरिएको हो ।
त्यसभन्दा बाहिर भने हिँडडुल गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया