काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले गरेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठद्वारा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान(प्रदान) को प्रमुख माध्यम बनेको छ । यसलाई एकै पटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार हो ।’
रास्वपाले अभिव्यक्ति स्वतन्त्रतालाई लोकतान्त्रिक समाजको मेरुदण्ड भन्दै यसलाई नियन्त्रण वा संकुचित गर्नु आपत्तिजनक कदम भएको बताएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई र धारा १९ ले सूचना तथा सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया