खाद्य उद्योग दर्ता, अनुमतिपत्र र नवीकरण अब अनलाइनबाटै

लोकपथ
133
Shares

काठमाडौं । खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अब अनलाइनबाटै उपलब्ध भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ सञ्चालनमा ल्याएको महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।

उनका अनुसार, नेफिल्स प्रणाली विशेष गरी खाद्य उद्योगी व्यवसायीका लागि ‘पेपरलेस’ र ‘फेसलेस’ सेवा उपलब्ध गराउँछ। यस प्रणालीमार्फत उद्योगीहरूले घर वा अफिसमै बसेर लगइन आइडी बनाएर आवश्यक कागजात अपलोड गर्न सक्नेछन्। विभागका कर्मचारीहरूले कागजात समीक्षा गरेपछि, अनुमतिपत्र तयार भएको सूचना सेवाग्राहीको इमेलमा पठाइनेछ।

महानिर्देशक कर्णले बताए अनुसार, यस प्रणालीले अब उद्योगीहरूले बारम्बार विभागमा धाउनु नपर्ने अवस्था सिर्जना गरेको छ। केवल खाद्य नमुना विश्लेषणका लागि मात्र उद्योगीलाई विभागमा आउनुपर्ने व्यवस्था गरिएको छ।

नेफिल्स प्रणालीले प्रक्रिया छिटो, पारदर्शी र सहज बनाउने उद्देश्य राखेको छ। विगतमा ३–६ महिना लाग्ने कामहरू अब अधिकतम १५ दिनभित्र सम्पन्न हुनेछन्, भने नवीकरण प्रक्रिया एक हप्ताभित्रै सम्पन्न हुने विभागको दाबी छ।

साथै, जी कोड प्रणालीको व्यवस्था गरी उद्योगको स्थान सजिलै पत्ता लगाउन सकिने र निरीक्षण तथा अनुगमन कार्यमा सहजता हुने कर्णले बताए।

हाल सेवा काठमाडौं र हेटौँडाबाट सुरु भएको छ, र असोज महिनाको पहिलो हप्ताबाट विराटनगर, जनकपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीबाट समेत सेवा सुरु गरिने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?