काठमाडौं । तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)’ प्रणालीको सुरुवात भएको छ ।
जिपी अस्पतालमा आयोजित विशेष कार्यक्रमकाबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यस प्रणालीको शुभारम्भ गरेका हुन् ।
ईएमआर प्रणाली लागू भएसँगै अब यस अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य विवरण, परीक्षणका रिपोर्ट लगायतका तथ्याङ्क विद्युतीय रूपमा सुरक्षित र एकीकृत अभिलेख राख्न सकिने भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ई एम आर प्रणालीले उपचार सेवालाई थप व्यवस्थित, सहज र गुणस्तरीय बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन मन्त्रालय सक्रिय रहेको समेत बताए ।
‘देशभरका स्वास्थ्य संस्थामा प्रविधिको विस्तार गरी नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न सरकार निरन्तर क्रियाशील रहेको छ,’ उनले भने ।
विद्युतीय चिकित्सा अभिलेखलाई व्यवस्थित गर्न मन्त्रालयले निर्देशिका जारी गरेको स्मरण गर्दै मन्त्री पौडेलले अब ई एम आर प्रणाली सबै सङ्घीय अस्पतालमा लागू गर्ने प्रतिवद्धता समेत जनाए ।
मन्त्रालयले गत २०८१ फाल्गुनमा स्वास्थ्य विवरण सम्बन्धी अभिलेखलाई व्यवस्थित बनाउन ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१’ जारी गरेको थियो ।
जिपी अस्पतालमा ई एम आर प्रणाली स्थापनाका लागि विश्व स्वास्थ्य सङ्गठनले सहयोग गरेको थियो । यस सहयोगका लागि मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठनप्रति आभार व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया