रुवी साहको हत्या पूर्व प्रेमीबाट भएको आशंका, पूर्व प्रेमी फरार

लोकपथ
6.2k
Shares

काठमाडौं । रौतहट जिल्लाको गौर–सिर्सिया–गंगापिपरा सडक खण्डमा सुटकेसभित्र शव भेटिएको घटनामा मृतकका पूर्व प्रेमी घटनामा जिम्मेवार रहेको आशंका गरिएको छ । घटना लगत्तै पूर्व प्रेमी फरार रहनु र उनको संलग्नताको प्रमाण भेटिनुले घटना योजनावद्धरुपमा रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एक अधिकृतका अनुसार रुवी साहको हत्या भएको घटनामा उनका पूर्व प्रेमीको संलग्नता रहेको हुनसक्ने महत्त्वपूर्ण प्रमाणहरू प्रहरीसँग रहेको छ । त्यस लगत्तै प्रहरीले पूर्व प्रेमीको खोजी गरेको भए पनि उनी फरार रहेका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार हत्या योजनाबद्ध रूपमा भएको अनुमान गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्यामा उनका पूर्व प्रेमी लक्ष्मण पासवानको मुख्य भूमिका रहेको संकेत पाइएको छ । घटना लगत्तै पासवान फरार हुनुले पनि घटनामा उनको संलग्नता रहेको अनुमान गर्दै पासवानको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

गत शनिवार राति स्थानीय मानिसहरूले गौर-सिर्सिया-गंगापिपरा सडक किनारमा डोरीले बाँधिएको सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले सुरुमा विस्फोटक पदार्थ रहेको अनुमान गर्दै सुरक्षा दिएको थियो । तर पछि त्यहाँ विस्फोटक पदार्थ रहेको नपाइएपछि सुटकेस खोलेर हेर्दा महिलाको शव फेला परेको थियो । पछि उक्त शव गौरमा बस्ने २६ वर्षीय रुवी कुमारी साहको भएको पुष्टि भएको थियो । अन्यत्रै हत्या गरी सुटकेसमा शव राखेर सडक किनारमा फालिएको पाइएपछि घटनाको अनुसन्धान सुरु भएको थियो ।

मृतक रुवी कुमारी साहको माइती रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ हो । यद्यपि उनको विवाह भारत बिहारको मुजफ्फरपुर जिल्लामा भएको थियो । रुवीको विवाह बिहारका शिवसागर साहसँग भएको थियो ।

साह केही समय अगाडिदेखि आफ्ना ४ वर्षका छोरालाई पढाउन भन्दै माधवनारायण नगरपालिका–६ स्थित माधवपुरमा डेरामा बस्ने गरेकी थिइन् । घटनाको दिन दिउँसो ब्युटी पार्लर जान भन्दै घरबाट निस्किएकी रुवी त्यस दिन फर्किएकी थिइनन् । रुवी रातिसम्म नफर्किएपछि आइतबार बिहान रुवीको शव भेटिएपछि मात्रै परिवारले रुवी हराएको रिपोर्ट प्रहरीमा गरेका थिए ।

रिक्सा चालक पक्राउ

यसैबिच सोमबार अपराह्न मात्रै प्रहरीले ई-रिक्सा चालक राजकुमार महरालाई पक्राउ गरेको थियो । उक्त सुटकेस रिक्सामा हालेको सिसिटिभी फुटेजमा पाइएपछि प्रहरीले ई-रिक्सा चालक महरालाई पक्राउ गरी सोधपुछ गरेको थियो । त्यसपछि महराले प्रहरीलाई दिएको बयानमा आफूलाई ५ सय रुपैयाँ दिएर रिक्सा लगिएको थियो र अरू रिक्सामा जान भन्दा शंकित व्यक्तिले अरू रिक्सामा जानसमेत अस्वीकार गरेका थिए । यद्यपि सुटकेसमा के थियो भन्ने सम्बन्धमा भने रिक्सा चालकलाई थाहा थिएन । रिक्सा चालकले ई रिक्सामा सुटकेस हालेर लैजाँदै गर्दा बाटोमा नै ई रिक्सा बिग्रिएपछि सुटकेस ल्याउने व्यक्ति सुटकेस बोकेर फरार भएका थिए ।

रिक्सा चालकले गरे शंकितको पहिचान
ई-रिक्सा चालक राजकुमार महराले घटनामा संलग्न भएको भनी शंका गरिएको लक्ष्मण पासवानको पहिचान गरेका छन् । आफ्नो रिक्सा बुक गर्ने र आफूलाई लैजाने तथा बाटोमा रिक्सा बिग्रिएपछि सुटकेस बोकेर जाने व्यक्ति पासवान नै भएको भन्दै पहिचान गरेका छन् । त्यस लगत्तै प्रहरीले पासवानको व्यापक खोजी गरेको भए पनि उनी अहिले फरार छन् ।

पासवान पूर्व प्रेमी
प्रहरीको अनुसन्धानबाट शंकित लक्ष्मण पासवान रुवीको पूर्व प्रेमी रहेको खुलेको छ । विद्यार्थी जीवनमा रुवी र पासवान प्रेम सम्बन्धमा रहेको पाइएको हो । पासवानलाई भेट्न गएपछि रुवीको हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ । हत्यापछि ई रिक्सामा हालेर शवलाई बेपत्ता बनाउन खोजे पनि ई रिक्सा बिग्रिएको कारण हत्याराको योजना सफल नभएको र बोकेर लैजान समस्या भएपछि बाटोमा नै शव छाडिएको आशंका गरिएको छ ।

घरमा हत्या गरेर शव लुकाउने प्रयास
प्रहरीको प्रारम्भिक अनुसन्धानमा रुवी साहको हत्या गौर नगरपालिका–५ मा रहेको बाल मन्दिर पछाडिको एक घरमा भएको थियो । प्रहरीले घटनास्थलबाट मृतकको चप्पल र केही व्यक्तिगत सामानहरू समेत बरामद गरिसकेको छ । ती सामानसँगै घटनामा प्रयोग भएका अन्य सबुतहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?