एन्फा महिला लिग छनोटको पहिलो खेलमा छहारी क्लब विजयी

लोकपथ
168
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा छहारी क्लबले एफसी रियल क्लबमाथि ३–० को जित दर्ता गराएको हो । भारी वर्षाबिच सम्पन्न समूह ‘ए’को खेलमा छहारीले पहिलो हाफमा दुई गोल गर्‍यो भने दोस्रो हाफमा एक गोल थप्यो । 

वर्षाले प्रभावित भई खेल करिब ३० मिनेट रोकिएको थियो । जितसँगै छहारीले तीन अंक बटुलेको छ । 

विभिन्न १४ टोली सहभागी उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

त्यसैगरी समूह ‘बी’मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?