पालगञ्ज-नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा 

लोकपथ
868
Shares
फाइल तस्बिर

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन्  ।

नेपालगञ्ज-नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उनले सो प्रतिबद्धता जनाएकी हुन् ।

उनले नेपाल र भारतका बिचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्कलगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताइन् । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा राणाले नेपालगञ्जमा पनि होटललगायतका आवश्यक पर्यटन पूर्वाधारहरु बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले आज मन्त्री डा राणालाई भेटेर सो आग्रह गरेको हो ।

त्यस अवसरमा उनीहरुले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज(नयाँ दिल्ली सिधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरेका थिए । उनीहरुले सो विमानस्थलबाट प्रतिघण्टा छ सय यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधारहरु निर्माण भइसकेका जानकारी गराएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?