काठमाडौं । साउनको अन्तिम सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ ।
आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरूको पूजा, अर्चनाका लागि भीड लागेको हो । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि भक्तजनहरूको उल्लेख्य भीड छ ।
साउन महिना विशेष गरेर आशुतोष भगवान् (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।
यो वर्ष साउनमा ४ वटा सोमबार परेका थिए । हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिने शास्त्रोक्त कथन छ । सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा साउनको सोमबारको व्रत बसेर मनाइएको छ ।
सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना हो । पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमवारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिष शास्त्रानुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ ।
अझ साउन महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एवं विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपतिनाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया