उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

लोकपथ
3.7k
Shares

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो मानिएको साविक विजेता उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा थप ६ गोल गर्दै नेपालको आशा समाप्त गर्‍यो ।

समूहका तीनै खेल जितेको उत्तर कोरियाले ९ अंकसहित शीर्ष स्थानमा रहँदै अर्को वर्ष थाइल्याण्डमा हुने अन्तिम चरणका लागि छनोट भयो। उत्तर कोरियाले छनोट चरणमा एक पनि गोल नखाई कूल ३६ गोल गरेको छ ।

नेपालका लागि यो पहिलो हार हो। यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको र दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले पराजित गरेको थियो ।

३ खेलबाट ४ अंक मात्र जोडेको नेपाल उत्कृष्ट दोस्रो हुने सम्भावनाबाट समेत बाहिरिएको छ। ५ वटा समूहमा दोस्रो हुने टिमले यसअघि नै ६ अंक बनाइसकेकाले नेपालको अन्तिम चरण पुग्ने बाटो बन्द भएको हो ।

नेपालले भुटान र साउदीलाई हराएर उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने लक्ष्य राखेपनि त्यो पुरा गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?