सशस्त्रका १६ जना एसएसपीको सरुवा, यी हुन कमान्ड पाउने ६ जना भाग्यमानी [सूचीसहित]

सशस्त्र प्रहरी नेतृत्वमाथि धावा बोल्ने कँडेलको मानवस्रोतबाट कार्यमा सरुवा

लोकपथ
11.8k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । जसमा एसएसपी प्रमुख रहने ६ जनालाई शिक्षालयको कमान्ड दिइएको छ । 

६ ओटा शिक्षालयमध्ये सबैभन्दा आकर्षक मानिने सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, नवलपरासीमा तीर्थराज पौडेललाई सरुवा गरिएको छ । पौडेल नातामा राष्ट्रपति रामचन्द्र पौडेलको भतिजा पर्छन् । 

यसैगरी, राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुर, कैलालीमा नीरकृष्ण अधिकारी, पाथीभरा जवान तालिम शिक्षालय झापामा रमेशकुमार पाण्डे, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँकेमा नरेन्द्र बम, बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा सूर्यबहादुर सेन ओली र दन्तकाली विशेष कार्यतालिम शिक्षालय, सप्तरीमा तेजप्रसाद पोखरेल सरुवा भएका छन् । 

यसैगरी, सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा असारको दोस्रो साता भएको ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ मा ‘आर्थिक चलखेलकै कारण योग्य र इमानदार अधिकृत सरुवा/बढुवामा पछि पर्ने गरेको र नेतृत्व तहले यसलाई गम्भीररुपमा नलिएको’ आरोप लगाएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण कँडेललाई मानवस्रोत विभागबाट कार्यविभागमा सरुवा गरिएको छ । 

गत असार ११ र १२ गते भएको वरिष्ठ अधिकृत सम्मेलनमा उनले ‘योग्य र इमानदार अधिकृतको सशस्त्र प्रहरीमा कुनै भविष्य नरहेको र जाली कुरा गर्नेहरूको बोलवाला रहेको’ बताएका थिए । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि महानिरीक्षक (आईजीपी) को सहभागिता रहेको सो कार्यक्रममा एसएसपी कँडेलले विषयवस्तुभन्दा बाहिर गएर बोलेको भन्दै उनलाई कारबाही गर्नुपर्ने आवाज त्यसबेला चर्को रूपमा उठेको थियो । सम्मेलनको मुख्य विषय सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायत भएपनि अनावश्यक विषयवस्तु उठान गरेको भन्दै उनलाई कारबाही गर्न सशस्त्रको नेतृत्वमाथि पनि दबाबसमेत बढाइएको थियो । 

सशस्त्र मुख्यालयले एसएसपी कँडेललाई विषयवस्तुभन्दा बाहिर गएर किन अनावश्यक कुरा गरेको र त्यस विषयमा प्रमाण  पेस गर्न उनलाई १२ घण्टे स्पष्टीकरणसमेत थमाएको थियो । तर पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई कारबाही हुनबाट जोगाएका थिए । 

कारबाही नहुने पक्कापक्की भएपछि उनी कार्यालय हाजिर भएर डीआईजी बढुवाका लागि आवेदन दिएका थिए । आफूभन्दा जुनियर दुई जना दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई डीआईजी बनाएको झोँकमा उनले सशस्त्र प्रहरी अधिकृत सम्मेलनमै सशस्त्र प्रहरी नेतृत्वमाथि धावा बोलेको बताइन्छ । 

नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर उनी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?