बागमतीको नवनियुक्त मुख्यमन्त्री बानियाँले गरे शपथग्रहण

लोकपथ
238
Shares

काठमाडौं । बागमती प्रदेशको छैठौँ मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार बानियाँलाई मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुखले मंगलबार नै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । बानियाँलाई नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ सांसदको समर्थन प्राप्त छ । कुल ११० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५६ सांसद आवश्यक पर्छ ।

यसअघि, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नै पार्टीभित्र बढेको राजनीतिक दबाबका कारण १८ साउनमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि बानियाँले १९ साउनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

बानियाँको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ । नेपाली कांग्रेसबाट शिवराज अधिकारी (मन्त्रालय पछि तोकिने) र कृष्णकुमार तामाङ (खानेपानी, सिंचाई तथा उर्जा) मन्त्री बनेका छन् ।

सत्ता साझेदार नेकपा एमालेबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालय, जयराम थापालाई श्रम, रोजगार तथा यातायात, भरतबहादुर केसीलाई वन तथा वातावरण, मधुसुदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास, डा.दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बानियाँको मुख्यमन्त्री नियुक्तिसँगै बुधबार मन्त्रिपरिषद् औपचारिक रूपमा विस्तार गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?