सिद्धार्थ राजमार्गमा २० घण्टा यातायात अवरुद्ध, सांसद गैरेको संसद्मा ध्यानाकर्षण

लोकपथ
490
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा ठूलो पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैरेले उक्त सडक अवरुद्ध हुँदा यात्रुहरूको आवागमन पूर्ण रूपमा प्रभावित भएको र मालबाहक सवारीसाधन समेत चल्न नसकेको जानकारी गराए ।

उनले भने, ‘यात्रुहरू बाटोमै अलपत्र परेका छन् । वैकल्पिक बाटो सञ्चालन गर्न तिनाउँ गाउँपालिका र सुरक्षाकर्मीहरूले प्रयास गरे पनि सफल हुन सकेको छैन।’

गैरेले पश्चिम पाल्पाको जुठापैवामा पनि सडक भासिएर स्थानीय जनजीवन प्रभावित भएको जनाउँदै आर्यभञ्ज्याङ–राम्दी खण्डसहितका ग्रामीण सडकहरू पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको बताए ।

‘विद्यार्थीहरू पढ्न जान पाएका छैनन् भने स्थानीयको दैनिक आवागमन बन्द भएको छ,‘उनले भने, ‘सिद्धार्थ राजमार्ग भएर पर्वत, अर्घाखाँची लगायतका जिल्लामा पुग्ने नागरिकहरू समस्यामा परेका छन् ।’

सांसद गैरेले पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अविलम्ब खुलाउने व्यवस्था गर्न सरकारसँग माग गरे । साथै, सम्भव भएसम्म सिद्धबाबा सुरुङमार्ग प्रयोग गरी साना सवारीसाधन पास गराउने व्यवस्था गर्न पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?